किताब पाएपछि विद्यार्थी भन्छन्- ‘अब बल्ल घरमै बसेर पढ्न पाइने भो’



प्रकाशित मिति : Jun 08, 2020
  • सविन लामिछाने

दमौली, २६ जेठ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को त्रासका कारण देशभर गत चैत्र ११ गतेदेखि गरिएको लकडाउन हालसम्म पनि कायम छ । हतारमा वार्षिक परीक्षा दिएका विद्यार्थीहरू नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिनाभन्दा बढी समय बित्दासमेत विद्यालय जान पाएका छैनन् ।

अहिले तत्कालै विद्यालय खुल्ने सम्भावना कम छ। अधिकांश सामुदायिक विद्यालयहरुमा क्वारेन्टाइन निर्माण गरिएको छ । केही सामुदायिक विद्यालयहरुले भने अनलाइन शिक्षा सुरु गरेका छन् । तर ग्रामीण भेगका विद्यालयहरुमा ईन्टरनेट नहुनाले अनलाईन शिक्षा सम्भव छैन ।

बालबालिकाको अधिकांश समय घरमै बितिरहेको छ । विद्यार्थीहरुमा पढ्ने चाहना भए पनि कतिपय ठाउँमा नयाँ पुस्तक पाउन नसकिरहेको अवस्था छ ।

यसै क्रममा तनहुँका सामुदायिक विद्यालयहरुले विद्यार्थीलाई नयाँ कक्षाको किताब वितरण सुरु गरेका छन् । विद्यार्थीहरुमा घरमै पढ्ने बानी हराउन थालेको भन्दै विद्यालय सञ्चालन नभए पनि घरमै बसेर पढ्ने बानीको विकास होस् भन्ने उद्देश्यले पुस्तक वितरण गरिरहेको व्यास नगरपालिका वडा. नं ६ स्थित रहेको ईन्दु माविका प्रधानाध्यापक रामकाजी श्रेष्ठले बताए । नयाँ कक्षाको किताब पाउँदा विद्यार्थीहरुमा केही न केही नयाँ सिकाइ हुन्छ भन्ने विश्वास रहेको उनको भनाई छ ।

विद्यालयले सामाजिक दुरी कायम गर्दै पुस्तक वितरण गरेको थियो । विद्यालयले पुस्तक मात्रै होइन, विद्यार्थी र अभिभावकलाई घर बस्दा पढ्ने सुझावसमेत दिने गरिएको प्रअ श्रेष्ठले बताए । लामो समयको पठनपाठन अवरुद्ध भएकाले विद्यार्थीमा पढ्ने बानी हराइसकेको भन्दै शिक्षकहरुले चिन्ता व्यक्त गरेका छन् ।

सोही विद्यालयको कक्षा ६ मा अध्यनरत छात्रा पूजा थापाले लकडाउनको बेला नयाँ कक्षाको पुस्तक पाएकोमा खु्सी व्यक्त गरिन् । उनले भनिन्, ‘अब बल्ल पढ्न पाइने भयो । लकडाउनले गर्दा नयाँ कक्षाको किताब हेर्नै पाइएको थिएन ।’

सोही वडाको बाह्रबिसेमा बस्ने केशव श्रेष्ठले पनि लकडाउनका बेला नयाँ कक्षाको पुस्तक पाएकोमा खुसी व्यक्त गरे । ‘लकडाउनले गर्दा कहिले स्कुल खुल्छ थाहा नै छैन । टिभी र मोबाईलमा गेम खेलेर समय बितिरहेको थियो,’ उनले भने, ‘पढ्ने बानी हराउन थालेको थियो । आज नयाँ कक्षाको पुस्तक पनि पाएँ । अब घरमै बसेर पढ्नी हो ।’

तत्काल विद्यालय खुले पनि अभिभावकहरुले कोरोना त्रासको कारण विद्यालयमा छोराछोरी पठाउने सम्भावना न्यून छ । यता अभिभावकहरुले पनि लकडाउनको बेला विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गर्नु राम्रो रहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com