२५ जेष्ठ २०७७, आईतवार
  • देवराज पन्त,

हेटौडा, २५ जेठ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले लकडाउन अवधिलाई शून्य समय मानेर बैंक ब्याज मिनाहको पहल गरिदिन आग्रह गरेको छ ।

आइतबार बागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै महासंघले मूल्य अभिवृद्धि करको प्रावधानसमेत हटाउन माग गरेको छ ।

महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँद्वारा बुझाइएको ध्यानाकर्षण पत्रमा लकडाउनका कारण यातायात सञ्चालनमा नरहेको तर सवारी साधन बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर खरिद गरिएकोले मानवीयताका लागि गरिएको कर्मको सम्मान गर्न आग्रह गरिएको छ ।

पत्रमा यातायात क्षेत्रलाई सरकारले सेवामूलक व्यवसाय भनेतापनि आव २०७७/७८ को बजेट वक्तव्यमा मूल्य अभिवृद्धि कर यथावत राखिएकोले सो प्रावधान हटाईदिन पनि आग्रह गरिएको छ । सरकारले लागू गरेको यस प्रावधान अनुसार मालबाहक सवारीको हकमा कार्यान्वयन गर्न समस्या देखिएको पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

लकडाउनको समयमा पनि अत्यावश्यक सामग्रीहरुको ढुवानी याथावत रहेको अवस्थामा ती सवारीका चालक, सहचालकको स्वास्थ्य सुरक्षा, वीमा लगायतको सुविधा प्रति राज्य गम्भीर नभएको गुनासो पनि ध्यानाकर्षण पत्रमा गरिएको छ ।

कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव सरोजकुमार खनाल, निवर्तमान अध्यक्ष बद्रिप्रसाद चौलागाई सहित यातायात व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

यातायात व्यवसायीहरुले केही दिन अघि पनि आफ्नो क्षेत्रको समस्याका बारेमा बागमति प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुयाललाई पनि ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV