२५ जेष्ठ २०७७, आईतवार
  • तारा आचार्य

विराटनगर, २५ जेठ । मोरङको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाइन प्रणालीबाट गरिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभएको छ ।

मन्त्री घिमिरेले संक्रमितहरु अस्पतालमा आएर भर्ना हुन समय लाग्ने भएकाले संक्रमित भर्ना हुनुअघि अनलाइनबाट वेड बुक गर्न सक्ने प्रवन्ध गरिएको जानकारी दिनु भयो । उहाँले संक्रमितले वेड वुक गरेपछि वेड नं. र वेडको लोकेसनका आधारमा भर्ना हुने बताउनु भयो । उहाँले संक्रमण देखिएको स्थानबाट एम्वुलेन्सले अस्पताल ल्याएर छाड्ने र संक्रमित सोझै वेडमा पुग्ने गरी व्यवस्थापन मिलाईएको जानकारी दिनु भयो।

अनलाइन भर्नाका लागि नेपाली सेना, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल टिम र सामाजिक विकास मन्त्रालयबाट व्यस्थापन टिम तयार गरिएको छ । सोही टिमले अनलाइन भर्नाको व्यवस्थापन गर्ने भएको छ । कोरोना उपचार केन्द्रको बाहिरी व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिईएको छ ।

शुक्रबार देखि सञ्चालनमा आएको सुन्दरहरैचाको कोरोना उपचार केन्द्रमा आइतबार सम्म ५३ जना उपचाररत रहेका छन् । सो उपचार केन्द्रमा ७४ वेड तयार गरिएको छ भने सामाजिक विकास मन्त्री घिमिरेले थप ५१ वेडको तयारी गर्न निर्देशन दिए संगै सुन्दरहरैचामा १ सय २५ वेड तयार हुने छन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV