२५ जेष्ठ २०७७, आईतवार
  • राजु पौडेल

झापा, २५ जेठ । झापाको अर्जुनधारा नगरपालिकाको क्वारेन्टाइनमा पनि दुई व्यक्तिमा आइतबार कोरोना संक्रमण पुष्टि भएको छ । यस नगरमा पहिलोपल्ट कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य अस्पताल विराटनगरमा गरिएको परीक्षणमा उनीहरुको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । उनीहरु अर्जुनधारा नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा बस्दै आएका थिए । संक्रमित युवाहरुको उमेर २३ र २७ वर्ष रहेका छन् ।

स्थायी घर अर्जुनधारा ९ रहेका उनीहरुको रिपोर्ट पाजिटिभ आएपनि थप उपचारका लागि गोठगाउँस्थित आइसोलेसनमा लैजाने तयारी भइरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । दिल्लीबाट पाँच दिनअघि पूर्वी नाका काँकरभिट्टाहुँदै उनीहरु आएका थिए ।

दिल्लीबाट बाघडोग्रा एयरपोर्टहुँदै पानीटंकीबाट मेची पुलसम्म आएका उनीहरुलाई अर्जुनधाराको एम्बुलेन्सले क्वारेन्टाइनमा ल्याएको थियो । उनीहरुसँगै आएकी २१ वर्षीया एक महिलाको रिपोर्ट भने नेगेटिभ आएको बताइएको छ ।

पीसीआर परीक्षणका लागि शनिबार बिहान उनीहरुको स्वाब संकलन गरी विराटनगर पठाइएको थियो । क्वारेन्टाइनमा रहेका ५२ जनामध्ये ४४ जनाको स्वाब संकलन गरी कोरोना भाइरस परीक्षणका लागि पठाइएको थियो । क्वारेन्टाइनमा शनिबार ६ जना थपिएर ५८ जना छन् । संक्रमण पुष्टि भएका व्यक्तिसँगै एउटै कोठामा रहेका व्यक्तिलाई थप ७ दिन राखिने भएको छ ।
उनीहरुको थप पीसीआर परीक्षण गरेर मात्र घर पठाइने बताइएको छ ।

पीसीआर रिपोर्ट नेगेटिभ आएका ३७ जनालाई भने होम क्वारेन्टाइनमा राखिने भएको छ । नगरको स्वास्थ्य शाखाले यसअघि ५४ जनाको पीसीआर टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । आज थपिएका २ जनासहित झापामा कोरोना संक्रमितको संख्या १ सय ३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV