
- इरफान अली,
वीरगञ्ज, २५ जेठ । पर्सा प्रशासनले लकडाउनको समयमा बीरगञ्जमा आलोपालो गरेर पसल खोल्न दिने आफ्नो पूर्व निर्णय सच्याउदै पुनः अत्यावश्यक बाहेकका सम्पूर्ण पसल व्यवसाय बन्द गर्न निर्देशन दिएको छ ।
बारा र पर्साका स्थानीय प्रशासनले बेग्ला बेग्लै सूचना निकालेर लकडाउनमा व्यवसाय सञ्चालनमा पुनः रोक लगाएको हो ।

पर्साको वीरगञ्ज बजार शुक्रवारदेखि आलोपालोमा प्रणाली अन्तर्गत खुलेका थिए । कोरोना माहामारीका कारण विगत ७२ दिन देखि पर्सामा लागू गरिएको लकडाउनका कारण वीरगञ्जको बजार बन्द रहेको थियो ।
विगत केही दिन देखि व्यवसायीहरुले विरोध गर्दै आएपछि पर्साका स्थानीय प्रशासनले २ दिन अगाडि मात्र पसल खोल्ने निर्णय गरे पछि बीरगञ्जका साथै पर्साका अन्य स्थानका पसलहरु खुलेका पनि थिए ।
स्थानीय प्रशासनले लकडाउनको समयमा आलोपालो बजार खोल्न अनुमति दिएको यहाँको प्रशासनले २ दिन नबित्दै अत्यावश्यकीय सेवा वाहेकका सम्पूर्ण पसल बन्द गराएको छ ।
कोरोना संक्रमण बढिरहेको र संक्रमणको जोखिम देखिएकाले अत्यावश्यक बस्तु तथा सेवाबाहेकका सम्पूर्ण व्यवसाय स्थल बन्द गर्नुपर्ने प्रशासनको सूचनामा उल्लेख छ ।
संक्रमण फैलिन नदिन पर्याप्त सावधानी अपनाएर व्यवसाय खोल्न भनिएकोमा पालना नभएपछि बन्द गराउनु परेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनु भयो ।
कोरोनाका संक्रमित बढ्दै गएको र व्यवसायस्थलमा सतर्कता नअपनाएको भेटिएपछि संक्रमण फैलिने जोखिमका कारण अत्यावश्यक बाहेकमा सबै पसल बन्द राख्न सूचना गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कार्कीले बताउनुभयो ।
