२५ जेष्ठ २०७७, आईतवार
  • उत्तम पौडेल,

पोखरा, २५ जेठ । गण्डकी प्रदेशमा हाल संक्रमितको संख्या बढ्दै गएको छ । बाग्लुङ्गका दुई जनाबाट देखिन शुरु गरेको संक्रमण हाल प्रदेश भरि १ सय १३ जनामा देखिएको छ ।

लकडाउनको लामो समयसम्म कास्कीलगायतका केही जिल्लामा संक्रमणका घटना नदेखिएको भएता पनि हाल कास्कीमा पनि संक्रमितको संख्या पाँच पुगिसकेको छ ।

कास्कीको कोरोना प्रकरणबाट सबै चकित

कास्कीमा देखिएको संक्रमणको पहिलो घटना भने अचम्मको रहेको छ । कास्कीका पहिलो संक्रमित लामो समय देखि पोखरामै बस्दै आएका तर अस्थायी बासिन्दा हुन ।

उनी कानून ब्यवसायी हुन । उनलाई संक्रमण कसरी भयो भन्ने पोखरामा चर्चाको बिषय बनेको छ । उनीलामो समय देखि पोखरा भन्दा बाहिर नगएका ब्यक्ति पनि हुन ।

गत २० गते आफ्नै घरमा बेहोस भएर ढलेका उनीलाई कोरोना संक्रमण कसरी भयो रु भन्ने सबैको चासोको बिषय बनेको छ । घरमा बसिरहेका उनी एक्कासि ढले पछि केही सहयोगीहरुको सहयोगमा उनलाई तुरुन्तै पोखराको सृजना चोकमा रहेको मेट्रोसिटी अस्पतालको इर्मजेन्सीमा पुर्याइयो ।

त्यहाँका चिकित्सकले आफुहरुबाट नहुने भनेपछि उनीलाई फेरी पोखराकै अर्को अस्पताल जीएमसी पुर्याइएको वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले बताउनुभयो ।

जीएमसी अस्पतालमा पनि उनको उपचार सम्भव नहुने बताइए पछि उनलाई प्रभुको हेलिकप्टर चार्टर गरेर काठमाण्डौको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा पुर्याइएको वडाध्यक्ष बरालले जानकारी दिनुभभयो ।

काठमाण्डौमा परीक्षण गर्दा उनीमा कोरोना पोजिटिभ देखिएको हो । उनीलाई अस्पताल पुर्याउन सहयोग गर्ने मध्येका ४ जनाहाल सेल्फ क्वारेन्टाइनमा बसेका छन ।

उनीहरुको पीसीआर परीक्षण गरिएको छ भने उनीसँग सम्पर्कमा रहेका अन्य ३९ जनाको पनि कन्ट्याक्ट ट्रेसिङ गरिएको वडाध्यक्ष बरालले जानकारी दिनुभयो । हाल उनीसँग सम्पर्कमा रहेका ३९ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

पोखराका पहिलो संक्रमितको रुपमा देखिएका ब्यक्ति उनी नै हुन । उनलाई संक्रमण कसरी भयो यसै भन्ने अवस्था भने छैन । पोखरा ८ मा धेरै जसो भारतीय मुलका नागरिकहरु भाडामा बस्ने गरेको पाइन्छ ।

सामान्य हिसावले रासन तथा तरकारी किन्न जाने बेला पहिचान नभएको संक्रमित सँगको सम्पर्कका कारण उनलाई संक्रमण भएको हो की भन्ने आशंका गरिएको छ ।

हाल उनको काठमाण्डौको ह्याम्स अस्पतालमा उपचार भैरहेको छ भने उनको स्वास्थ्यमा सुधार हुँदै गएको वडाध्यक्ष बरालले जानकारी दिनुभएको छ ।

उनीसँग सम्पर्कमा रहेका ४९ जना र अन्य केहीको पहिचानलाई तीब्रता दिइएको छ । पहिचान भएका ३९ जनाको पीसीआर परीक्षणका लागि पठाइएको र उनीहरुको छिट्टै रिर्पोट आउने बताइएको छ । पोखरामा दोस्रो संक्रमित पोमनपा वडा नं २७ का हुन । उनको स्थिति पनि सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV