२५ जेष्ठ २०७७, आईतवार
  • बसन्त खतिवडा

बारा, २५ जेठ । बकैया नदीको कटानका कारण वर्षेनी जोखिममा रहने निजगढमा यसवर्ष पनि वर्षातमा बाढी गाउँ पस्न नदिन त्यस अगावै नियन्त्रणको तयारी थालिएको छ । अघिल्लो वर्षको बाढीले पूर्वी तटबन्ध कटान गरेपछि नगरले वर्षात अघि नै काम सक्ने गरी खोलालाई च्यानलाईज गर्न थालेको हो ।

नदीले धार परिवर्तन गरेर अघिल्लो वर्ष पूर्वी तटबन्द कटान गरे पछि नियन्त्रण गर्न खोलाको धार परिवर्तन गरी तटबन्ध निर्माण सुरु गरिएको निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश खनालले जानकारी दिनुभयो ।

कार्यपालिकाको बैठकबाट निर्णय गराई ७ वटा एक्साभेक्टर मार्फत यति बेला खोलाको धार परिवर्तन गर्ने कार्य भईरहेको छ । खोलाको धार परिवर्तन गर्दा जिल्ला अनुगमन तथा समन्वय समितिले दुःख दिएको र केही सञ्चार माध्यमले खोला दोहन गरेको समाचारको कार्यपालिका बोर्डले आफुहरुको ध्यानाकर्षण भएको जनाएको छ ।

निजगढ नगरपालिकाको वडा नं. ४, ८ र ९ हुँदै बग्ने बकैया नदीले धार परिवर्तन गरी वर्षेनी दुःख दिएपछि कार्यपालिकाको निर्णय बमोजिम खोलाको धार परिवर्तन गरी अस्थायी तटबन्ध निर्माण गर्ने निर्णय भएको उपप्रमुख लिलादेवी खनालले बताउनुभयो ।

प्रारम्भिक वातावरणीय परीक्षणको प्रतिवेदन बमोजिम नगरले खोलामा थ्रुप्रिएको नदीजन्य पदार्थ उत्खनन एवं वितरण गर्न ठेक्का आव्हान गरेको थियो ।
खोलालाई ६ वटा प्लटमा विभाजन गरी एक करोड २२ लाख ४३ हजार घनमिटर नदीजन्य पदार्थ निकाल्न ठेक्का लगाएको थियो ।

ठेक्का लगाउने वित्तिकै ठेक्काको विषयलाई लिएर मुद्धा पर्नु, ठेक्का समयमा लगाउन नसक्नु, त्यसपश्चात लकडाउन शुरु हुनु जस्ता कार्यले गर्दा खोलाबाट उत्खनन् गर्न नसकिएको नगरले जनाएको छ ।

नदीको पश्चिम तर्फ थुप्रिएको ढुंगागिटी वर्षात अघि नै ननिकाल्ने हो भने खोलाले धार परिवर्तन गरी गाउँ पस्ने भएपछि अहिले ठेकेदार मार्फत नै उक्त क्षेत्रको उत्खनन गराईएको हो, नगरप्रमुख खनालले भन्नुभयो‘ आफुहरुको प्रत्यक्ष निगरानीमा खोलाको च्यानालाईज गर्ने काम भईरहेको हुँदा ठेकेदारले बदमासी गर्न सक्दैन ।’

निजगढलाई बाढीबाट बचाउन बकैया खोलाको तटबन्ध गर्ने काम जल उत्पन्न प्रकोप कार्यालय, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम जस्ता निकायले गर्ने भएता पनि हालसम्म कुनै ठोस कार्य हुन सकेको छैन ।

तसर्थ वर्षात अघि नै नदीजन्य पदार्थको व्यवस्थित उत्खनन गरी नदीलाई च्यानालाईज गरी बस्ती जोगाउन यति बेला नगर आफै जुटेको छ ।

वर्षात शुरु हुन केही दिन मात्र बाँकी छदा स्थानीयहरुले समेत बस्ती जोगाउन व्यापक दवाव दिएपछि कार्यपालिकाबाट निर्णय गराई अहिले खोलालाई च्यानलाईज गर्ने काम भईरहेको नगरप्रमुख खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV