२५ जेष्ठ २०७७, आईतवार

काठमाडौं, २५ जेठ । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले नेकपा सरकारले आफ्नै पार्टीको चुनावी घोषणापत्र विपरित विद्युतीय सवारीमा कर लगाएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद कँडेलले विद्युतीय सवारीमा कर बढाए पेट्रोलियम पदार्थको खरिदमा अर्बौं रकम भारततिर जाने पनि बताउनुभयाे । ‘यसरी विद्युतीय सवारीमा कर लगाउँदा ठूलो रकम भारत जाने हुन्छ । भोलि भारतले पेट्रोलियम पदार्थ रोकेमा पनि हामीलाई घाटा हुन्छ ।’

सांसद कँडेलले सरकारको नेतृत्वलाई आफ्नो पार्टीको घोषणापत्र र प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्ष पहिले साझा यातायत उद्घाटन गर्ने क्रममा गरेको प्रतिबद्धता स्मरण गराउनुभयाे । ‘सरकारको विद्युतीय सवारीमा कर बढाउने निर्णय जनताप्रति जवाफदेही नरहेको र भोटको लागि भाषणको राजनीतिक बेइमानी गरेको देखिन्छ,’ कँडेलले भन्नुभयाे ।

उहाँले विद्युतीय सवारीमा कर बढाएर विदेशी मुद्रा बाहिरिन नदिने भन्ने अर्थमन्त्री युवराज खतिवडाको दाबी पनि झुटो भएको बताउनुभयाे । नेपालले पेट्रोलियम पदार्थ खरिद गर्दा वर्षेनी अर्बौं रकम बाहिरिने पनि उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘विद्युतीय सवारी खरिद गर्दा एकपटक मात्रै रकम बाहिरिन्छ भने पेट्रोलियम पदार्थ खरिद गर्दा वर्षैपिच्चे अर्बौं विदेशी मुद्रा बाहिरिन्छ । अर्कोतिर नेपालमा उत्पादन हुने विद्युत् प्रयोगमा आउँदैन ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV