२४ जेष्ठ २०७७, शनिबार

काठमाडौं, २४ जेठ । पछिल्ला दुईसाता यता नेपालमा कोरोना भाइरस रफ्तारमा अघि बढेको छ । दैनिक २ सयदेखि ३ सयभन्दा बढीको संख्यामा कोरोना संक्रमित बढेका छन् । यहीबीचमा १३ जनाले त ज्यान नै गुमाइसकेका छन् ।

तर, सरकारको नीति अस्थिर रहेको आलोचकहरुले बताउने गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणका लागि बनाएको नयाँ प्रोटोकल अवैज्ञानिक रहेको जनस्वास्थ्यका जानकारहरुले बताएका छन् ।

कोरोना भाइरस संक्रमण दैनिक रफ्तारमा फैलिन थालेको छ । २४ घण्टामा संक्रमितको संख्या ३ सय नाघेको छ । सरकारले सुरुवाति दिनबाटै कमजोरी गरेको विज्ञहरुले बताएका छन् ।

क्वारेन्टाइनमा बस्नेको संख्या अप्रत्याशित बढेको र प्रयोगशालामा धेरै नमूना होल्ड भएको भन्दै मन्त्रालयले ‘नेशनल टेस्टिङ गाइडलाइन फर कोभिड–नाइन्टिन’ बनाएको छ ।

सरकारले यही गाइडलाइनका आधारमा पीसीआर परीक्षणका लागि तीनवटा प्राथमिकता समूह छुट्याएको छ । पहिलो प्राथमिकताः समूहमा संक्रमण फैलिएको समुदाय, आइसोलेसनमा बसेका व्यक्तिहरु र संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरु ।

दोस्रो प्राथमिकताः समूहमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दीर्घरोग भएका बिरामीहरु र अस्पतालमा काम गर्ने एम्बुलेन्स चालक र अन्य स्टाफहरु ।

तेस्रो प्राथमिकताः लक्षण भएका तर पहिलो र दोस्रो प्राथमिकता समूहमा नपरेका व्यक्तिहरु । यो प्रोटोकल अनुसार कोरोनाको लक्षण नभएका, ट्राभल हिस्ट्री नभएका र आफैं परीक्षण गराउन पुग्नेहरु परीक्षणको प्राथमिकतामा पर्ने छैनन् ।

प्रोटोकलको अधिकांश बुँदाहरुमा बिरामीलाई रुघाखोकीको लागेको वा ज्वरो आएको हुनुपर्ने छ । श्वास–प्रश्वासमा समस्या भएको, ज्वरो आएका मानिस पनि संक्रमण क्षेत्रबाट फर्कएको १४ दिन भएको हुनुपर्ने छ ।

त्योबाहेक कोरोनाको अन्य लक्षण भएता पनि ज्वरो आएको वा श्वासप्रश्वासमा समस्या भएकाहरुलाई मात्र पीसीआर टेष्ट गर्ने भनिएको छ । संक्रामक रोग विशेषज्ञहरुले सरकारले बनाएका परीक्षणका नयाँ मापदण्डहरु थप घातक हुनसक्ने चिन्ता व्यक्त गरेका छन् ।

संक्रमण देखिएका एकतिहाईलाई सुरुको चरणमा लक्षण देखिदैन । नेपालकै परिवेशमा हेर्दा समग्रतामा सुरुमा ४४ देखि ९८ प्रतिशतलाई मात्र ज्वरो आउने गरेको छ । त्यस्तै रुघाखोकी ४६ देखि ८२ प्रतिशत संक्रमितलाई देखिन्छ भने श्वास प्रश्वासमा समस्या ३१ प्रतिशत संक्रमितलाई मात्र हुन्छ । त्यस्तै थकान र जिउ गल्ने ११ देखि ४४ प्रतिशत संक्रमितलाई मात्र हुन्छ ।

क्वारेन्टिनमा राख्ने सम्बन्धि मापदण्डमा पनि कमजोरी पाइएको छ । क्वारेन्टाइनमा बसेका र लक्षण देखिएकालाई आरडीटी र पीसीआर गर्ने नयाँ प्रोटोकलमा उल्लेख छ ।

क्वारेन्टाइनमा बसे पनि श्वासप्रश्वासमा समस्या छैन, कोभिडको कुनै लक्षण छैन भने त्यतिकै घर पठाउन मिल्ने भनिएको छ । तर, हाललाई आरडीटी गर्ने भनिएको छ । यो बुदाँले पनि जनस्वास्थ्यमाथि खेलबाड गर्ने जनस्वास्थ्य विज्ञहरुको तर्क छ ।

आरडीटीबाट नेगेटिभ भेटिएकाहरुको मृत्यु भएको पाइएको छ । र मृत्युपछि उनीहरुको स्वाव परीक्षण गर्दा पोजिटिभ भएको पाइएको छ । सुर्खेत, डोल्पामा मृत्यु भएकाहरु यसका उदाहरण हुन् ।

एउटा क्वारेन्टिनमा ३० जनाको समूह छ । त्यहाँ भएका सबैले एउटै शौचालय प्रयोग गर्छन् । सामाजिक दुरी कायम गर्दैनन् । एउटै कोठामा खाँदिएर सुत्छन् । त्यसैले यो मापदण्ड अव्यवहारिक हुने विज्ञहरुको बुझाइ छ ।

भर्खर–भर्खर संक्रमित भएकाहरुलाई १४ औं दिनमा टेष्ट गर्दा पनि भाइरस भेटिदैन । यस्तालाई घर पठाउँदा समुदायमा फैलिने निकै सम्भावना रहन्छ ।

हाल निर्माण गरिएका अधिकांश क्वारेन्टाइनमा स्वास्थ्य सुरक्षासम्बन्धी कुनै पनि मापदण्ड पालना भएको छैन । त्यसमाथि लक्षण नदेखिएकाको पीसीआर नगर्दा संक्रमित सहजै छुट्न सक्ने चिकित्सकहरुको भनाइ छ । त्यसैले पनि सरकारले अघि बढाएको मापदण्ड जोखिमयुक्त रहेको विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV