२४ जेष्ठ २०७७, शनिबार
  • बाल बिक्रम कार्की,

रौतहट, २४ जेठ । कोरोनालाई जितेर रौतहटबाट १८ जना घर फर्किएका छन् । जिल्लाको गौरस्थित गौर नसिङ्ग इन्टिच्युटको आइसोलेसनमा उपचारत उनीहरुको पीसीआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काएको हो ।

१८ जनामध्ये एकजना महिला हुनुहुन्छ । ती महिलामा संक्रमण देखिएपछि उनीसँगै संक्रमण नभएका उनका शिशुपनिसँगै आइसोलेसनमा रहेका थिए । उनीहरु गत जेठ चार गतेदेखि सो आइसोलेसनमा उपचाररत रहेका थिए ।

उनीहरुमध्ये अधिकांश जिल्लाको राजपुर तथा इशनाथ नगरपालिकाका रहेका छन् । भारतमा मजदुरी काम गरेर रौतहट फर्किएका उनीहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइमा राखेर स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएको थियो ।

पोजिटिभ देखिएपछि उनीहरुलाई उपचारको लागि अन्य जिल्लामा स्थान नपाएपछि जिल्लामै पहिलोपटक कोरोना संक्रमितको उपचार सुरु गरिएको थियो । स्वाब संकलन गरेर बीरगञ्जमा पठाइएमा उनीहरु सबैको रिर्पोट नेगेटिभ आएकाले डिस्चार्ज गरेर घर पठाइएको गौर अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर कृष्ण साहले बताउनुभयो ।

पहिलो पटक स्वाव संकलन गरेर काठमाडौँ स्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएपनि ७ दिन बित्दापनि रिर्पोट नआएपछि दोस्रोपटक स्वाव संकलन गरेर बीरगञ्ज पठाइएपछि २ दिनमै रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरेर घर फर्काइएको जानकारी दिनुभयो ।

‘स्वाव परीक्षणको रिर्पोट नेगेटिभ आएको र नेपाल सरकारको परिपत्र अनुसार आइसोलेसनमा बसेको १४ दिन कटिसकेकाले डिस्चार्ज गरेका हौँ’ उहाँले भन्नुभयो, ‘हामी निकै खुसी छौँ । सीमित श्रोतसाधनका वावजुद पनि यो सफलता हासिल ग-यौँ ।’

आइसोलेसनमा बस्ने क्रममा उनीहरुमा कुनै समस्या नआएको भन्दै उहाँले उनीहरुलाई १४ दिन होम क्वारेन्टाइनमै बस्ने सल्लाह दिएर बिदाइ गरिएको बताउनुभयो । अब सो आइसोलेसनमा १८ जना संक्रमितहरु उपचाररत रहेका छन् ।

कोरोनालाई जितेर घर फर्कन पाउँदा उनीहरु निकै हर्षित देखिन्थे । उनीहरुले कोरोनासँग डराएर होइन आत्मवल दह्रो पारेर डटेर सामाना गरे सजिलै परास्त गर्न सकिने बताउँदै कोरोना संक्रमित हुँदैमा आतिनु नहुने धारणा व्यक्त गरेका थिए । योसँगै जिल्लामा कोरोना संक्रमण जितेर फर्कनेको संख्या २१ पुगेको छ ।

यसअघि ३ जना संक्रमित बीरगञ्जमा उपचार गरेर निको भएर फर्किसकेका छन् । जिल्लामा आजसम्म ३ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जिल्लामा संकलन भएका स्वाबहरु रिर्पोट आउन ढिलाइ भएका कारण निकै समस्या आइरहेको छ ।

अझैपनि २ हजार ७ सय ८३ को स्वाव परीक्षणको रिर्पोट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

LIVE TV