२४ जेष्ठ २०७७, शनिबार
  • बालबिक्रम कार्की,

रौतहट, २४ जेठ । सामाजिक अभियन्ता डा। महाविर पुनद्धारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस परीक्षणको लागि स्वाब निकाल्ने सुइरो बनाउन आवश्यक थ्रीडी प्रिन्टर खरिद गर्न फेसबुक ग्रुप एमआरआरमा आवद्ध जापानमा रहेका नेपाली युवाहरुले ४ लाख येन सहयोग गरेका छन् ।

उक्त ग्रुपमा आवद्ध जापानमा रहेका सदस्यहरुले सहयोग रकम जापानमा रहेका सो केन्द्रका प्रतिनिधि सुवास गुरुङ्गलाई हस्तान्तरण गरेका थिए । केही दिनअघि पुनले सामाजिक सञ्जाल फेसबुक मार्फत सो प्रिन्टर लगायत अन्य आवश्यक सामग्री खरिद गर्न सहयोग गर्न जापान स्थित नेपालीहरुलाई अनुरोध गर्नुभएको थियो ।

सोही अनुरोधलाई स्वीकार गर्दै एमआरआरमा आवद्ध जापानमा रहेका युवाहरु मिलेर २ घण्टामै सो रकम जम्मा पारेर हस्तान्तरण गरेको दीपक जोशीले बताउनुभयो ।

कोरोनाको कहर र लकडाउनले आफुहरुको कमाइमा पनि प्रभावित भइरहेता पनि देशको हितको लागि गर्न लागिएको कार्यमा सहयोग गर्न आफुहरु लागिपरेकाले सो सम्भव भएको उहाँले बताउनुभयो ।

एमआरआर सदैव सामाजिक कार्यमा लागिपरेको भन्दै यसअघि पनि देशलाई आवश्यक परेको बेला आफुहरुले सहयोग गरेको अर्का युवा नेत्र क्षेत्री बताउनुहुन्छ । विदेशमा रहेपनि देशका लागि केही गर्नुपर्छ भन्ने उद्धेश्यले आफुहरुले सो केन्द्रलाई सकेको सहयोग गरेको उहाँले बताउनुभयो ।

करिब १४ लाख मूल्य पर्ने सो प्रिन्टर लगायत आवश्यक सामग्री सामानहरु शुक्रबार नेपाल एअरलाइन्सको उडानबाट नेपाल ल्याइएको पुनले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिनुभएको छ ।

उहाँले सो प्रिन्टर लगायतका सामग्री खरिद गर्न सहयोग गर्नुहुने एमआरआर लगायत सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद दिनुभएको छ ।

उहाँले ती सामानहरु खरिद गर्नका लागि अमेरिकामा उठेको दान करिब ८ लाख रुपैयाँ ल्याउँने र बाँकी रकम जापानमा सापटी अथवा दान लिने भन्ने योजना रहेता पनि जापानमा भएका दाताहरुले सो प्रिन्टर किन्नको लागि मात्र भनेर अनुरोध गरेको रकम भन्दा बढी दान संकलन गरेकाले अरु धेरै सामानहरु पनि किन्न सकिएकोमा खुसी व्यक्त गर्नुभएको छ ।

उहाँले आज राष्ट्रिय आविष्कार केन्द्रमा त्यो प्रिन्टरको परीक्षण गरिने र त्यसबाट बनेको स्वाब संकलन गर्ने सुईराहरुलाई पहिला स्वास्थ्य मन्त्रालयमा लगेर प्रमाणीकरण गरेपश्चात मात्र आवश्यक सुइराहरु बनाएर स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV