२४ जेष्ठ २०७७, शनिबार
  • रामहरि श्रेष्ठ,

ओखलढुंगा, २४ जेष्ठ । जारी लकडाउनको सदुपयोग गर्दै ओखलढुंगाका एक युवाले आफूजस्तै अन्य युवाहरुलाई पनि हस्तकलाका सामग्री निर्माण गर्न सिकाइरहेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका–११ का विजय राईले आसपासका १६ जना युवाहरुलाई हस्तकलाको सीप सिकाइरहेका छन् ।

लामो समयदेखि बाँस तथा काठबाट बिनाइने सजावटका सामाग्रीहरु निर्माण गर्दै आएका राईले आफ्नै ब्यक्तिगत खर्चमा युवाहरुलाई तालिम दिएका हुन् । कोरोना त्रासका करण जारी लकडाउनलाई सदुपयोग गर्दै स्थानीय युवाहरुले सीप सिक्ने ईच्छा ब्यक्त गरेपछि सिकाउन सुरु गरेको राईको भनाइ छ ।

होटल सञ्चालक समेत रहेका उनराई कोरोना महामारीका कारण होटल बन्द भएपछि सजावटका सामग्री निर्माणमा ब्यस्त छन् । यसअघि जिल्लामा सञ्चालित कोशेली घरबाट त्यस्ता सामाग्रीहरु बिक्री वितरण हुँदै आएको भएपनि अहिले भने कोसेली घरले राख्ने गरेका छैन ।

जिल्लाबाट बाहिर जाने नागरिकहरुले चिनोको रुपमा स्थानीय उत्पादनलाई लैजाने गरेपनि अहिले विक्री बितरण ठप्प छ । यसलाई मध्यनगर गर्दै स्थानीय हस्तकलालाई प्रोत्साहान गर्न युवाहरुलाई निःशूल्क तालिम दिएको उनको भनाइ छ । फुर्सदको सदुपयोग गर्दै सीप सिकिरहेका मध्ये एकजना नेपाल प्रहरीमा कार्यरत देवन राई पनि रहेका छन् ।

मिलनचोक बिटमा कार्यरत देवनले ड्यूटी समयभन्दा बाहेकको समय मिलाएर हस्तकलाको सीप सिक्ने गरेका छन् । उनले केही दिनदेखि हस्तकला सिक्दै गरेको सुनाउदै अहिले बाँसबाट बनाइने फुलदानी, ट्रे लगायतका सामग्री निर्माण गर्न जानिसकेको बताए ।

उनीजस्तै अन्य युवाहरुले पनि बाँसबाट बनाइने बिभिन्न सजावटका सामग्रीहरु निर्माण गर्न सिकिरहेका छन् । उनीहरुलाई सीप सिकाइरहेका विजय राईका अनुसार जिल्लाका उद्यमीहरुले अहिले बाहिरबाट आयातित सामग्रीहरु बेच्ने गरेकाले स्थानीय हस्तकलाका उत्पादनलाई प्रवद्र्धन गर्न जरुरी छ ।

राईसँग हाल बाँस तथा कठबाट बनेका फोटो फ्रेम, चुरा दानी, मन्दिर, कपडा झुन्ड्याउने ह्याङ्गर लगायत सामग्रहरु छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV