२४ जेष्ठ २०७७, शनिबार
  • घनश्याम मिश्र

जनकपुरधाम २४ जेष्ठ । २४ घण्टा भित्र प्रदेश नम्वर २ मा ८३ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जस अनुसार सप्तरी जिल्लामा ७ जना, धनुषा जिल्लामा ८ जना, महोत्तरी जिल्लामा ३५ जना, सर्लाही जिल्लामा २७ जना र रौतहट जिल्लाका ६ जना ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत कोभिड १९ महामारी ब्रिफिङ कार्यक्रममा शनिबार दिइएको जानकारी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षण मार्फत सप्तरी जिल्ला वलान बिहुल गाँउपालिकाका २७ देखि ४० बर्ष उमेरका ५ जना पुरुषहरुमा र सोही गाउँपालिका २० र २७ बर्षका २ जना महिलाहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यस्तै धनुषा जिल्लामा भने देबपुरा रुपैठा क्वारेन्टाइनका १९ देखि ५४ बर्ष उमेरका ६ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यता महोत्तरी जिल्लामा जलेश्वर क्वारेन्टाइनका १७ जना पुरुष, मटियानी क्वारेण्टाइनका ७ जना पुरुष, एकडारा क्वारेन्टाइनका ६ जना पुरुष, गौशाला क्वारेन्टाइनका २ जना पुरुष तथा सोही क्वारेन्टाइनका १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौंबाट प्राप्त विवरण अनुसार सर्लाही जिल्लामा रामनगर गाउँपालिकाका १६ जना, मलंगवा नगरपालिकाका ८ जना र ईश्वरपुर नगरपालिकाका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरु १६ देखि ३६ बर्ष उमेरका रहेको बुझिएको छ । उता रौतहट जिल्ला ईशनाथ नगरपालिकामा सञ्चालित क्वारेन्टाइनमा रहेको ४ जना पुरुष र २ जना महिलामा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।

कोरोना संक्रमितहरुको संख्या बढीरहेको वर्तमान समयमा कारोनालाई जितेर सामान्य जीवनमा फर्कनेहरुको संख्या समेत बढी रहेको छ । यस २ नम्वर प्रदेशमा हालसम्म १ सय ५९ जना कोरोना संक्रमित ब्यक्तिहरु उपचार पश्चात निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV