नेपालको राष्ट्रवाद : भारतको विरोधको जगमा नै उभिएको हो त ?



प्रकाशित मिति : Jun 06, 2020
  • मनिष (राम) जोशी,

काठमाडौं, २४ जेठ । राष्ट्रवादको मामिलामा नेपालमा एउटा परम्परागत सुत्र विजारोपण भएको छ, त्यो हो भारतलाई गाली । अहिलेका सत्तासिनहरुदेखि लिएर धेरै दलहरुले नै यो शैलीको राष्ट्रवादलाई पञ्चायतले सिकाएको ‘मन्त्र’ माने ।

तर अहिले त्यही ‘मन्त्र’ पुनः वाचन गरिन थालिएका छन् सत्तारुढ दलहरु र अहिलेका अन्य दलहरुबाट पनि । हुनत भारतसंग नेपालको मात्र नभइ दक्षिण एसियाका अन्य मुलुकको सम्बन्ध जहिले पनि चिसो नै रहने गर्दै आएको छ ।

मनिष (राम) जोशी

तर नेपालसंगको सम्बन्धमा आइरहने उत्तारचढावका बीच पनि भारतप्रतिको दृष्टिकोण भने आम जनमानसमा भने एकै शैली कायम छ भन्दा फरक नपर्ला पनि । यसपटक कालापानी प्रकरणले होस् या कोरोना प्रकरणले होस् यो झनै पन्पिन पुगेको छ ।

भनिन्छ इतिहासले जनतालाई एकताको सूत्रमा आबद्ध गर्दछ । इतिहासको गौरवले नै राष्ट्रियताको जगेर्ना गर्छ, राष्ट्रको लागि त्याग तपस्या र बलिदानका साथै मातृभूमि प्रति अखण्ड स्नेह ममता एवम् देशभक्ति विचारधारालाई ओतप्रोत गराउछ र देश प्रति सच्चा समर्पणले राष्ट्रियता स्थापित हुन्छ ।

गौरवशाली इतिहास बोकेको नेपाली यही इतिहासको गौरववोधमा मात्र आत्मरति गर्दै आएका छन् । राष्ट्रियता दल अनुरुप विभाजित बनेको छ, नेता अनुरुप व्याख्या भएको छ ।

दलले जे ठह¥याउछ, राष्ट्रियताको रुप पनि त्यही अनुरुप परिभाषित हुँदै आएको छ । पुर्खाले स्थापित गरेको साम्राज्य सुगौली सन्धिले छिनायो, त्यसपछि कोरिएका सीमा रेखाहरुमा निरन्तर अतिक्रमण बढ्दो छ ।

यसबीचमा लामो समय मुलुकले जे भोग्नु प-यो, देशको राजनीतिले जे भोग्यो, त्यसैको परिणति त हो यो । दरबारलाई पञ्चायत जोगाउनु पर्ने, पञ्चायतलाई फ्यालेर आएका दल र तिनका नेताहरुलाई कुसी जोगाउनु पर्ने ।

यही वेथितिवादले देशमा लामो समय जरा गाडदा भोगेको अपमानले अहिले आम नेपाली शीर ठाडो पारेर हिड्न समेत नसक्ने अवस्थामा पुगेका छन् । इतिहास इतिहासका पानामा मात्र सुनौला छन् वर्तमानको इतिहास लेखिसक्नु रहेन पनि अब ।

तर फेरि उही अवस्था दोहोरिएको छ अहिले । भारतको विरोध गर्नु नै राष्ट्रवाद बन्ने अवस्था आइपुगेको छ । कालापानी, कोरोना र खुला सीमा । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा उठेको राष्ट्रियताको ज्वारले अहिले सबैलाई एकै ठाउँमा उभ्याएको देखिन्छ ।

केही नेता (तर समग्र नेपाली भूगोलको जनताको आवाजमा समस्वर देखिएको छ यो प्रसंगमा) बाहेक सबै एक ठाउँमा उभिएका छन् । कोरोना भाइरस कोभिड १९ को महामारीको भयमा मुलुक फसिरहेको वखत त्यो पीडा भुलेर आम नेपालीको ध्यान कालपानी तिर मोडिएको छ ।

कसरी हुन्छ नेपाललाई हेपेर भएपनि लिपुलेक लिन सकिन्छ भन्ने मानसिकता रहेका भारतीय नेतृत्वलाई अहिले नेपाली पक्षले देखाएको र लिएको अडान अचम्म लाग्न सक्छ नै ।

किनभने हिजो ‘बढे दादाहरुको आर्शीवाद’ धेरै काम गरेको नेपालीले भुलेका छैनन पनि । तर अब जनता चनाखो भइसके । नाकावन्दी जस्तो पीडामा किन आम नेपालीले किन पचाए, किन सहे, त्यो सबैबाट लुकेको छैन, जस्को परिणाम आम निर्वाचनले पनि देखायो नै ।

यो सबक मात्र नभइ नेपाली राजनीतिक दलहरुलाई जनताको मतमार्फतको सुझाव पनि थियो । सबभन्दा बढी यो सबकको महसुस नेपाली काँग्रेसले नै गरेको हुनुपर्छ पक्का पनि ।

उसको लिपुलेकप्रतिको दृष्टिकोण अहिले जुन अडानका साथ आएको छ, त्यस्मा नेपाली काँग्रेसका कार्यकर्ताले पनि काँग्रेसमा वीपीको विवेक र आत्मा फर्किएको आभास गर्न थालेका छन् ।

यसपटक देखिएको अभूतपूर्व एकता कायम राखेर कालापानीमा नेपाली स्वामित्वको विजारोपण गर्न सके वास्तवमा यो पुस्ताको इतिहास पनि गर्विलो मानेर भोलिका सन्ततिले पढ्ने पक्का छ ।

तर लिपुलेकलाई मियो मानेर नेपालले अतिक्रमित सबै भूभाग फिर्ता ल्याएर मातृभूमि प्रतिको ऋण चुक्ता गर्न यही एकता र राष्ट्रप्रेममा सबै अविचलित रहनु पर्ने देखिन्छ ।

सुगौली सन्धि पछि स्खलित हुन थालेको नेपाली स्वाभिमानलाई जंगबहादुर राणाले बचाए भन्दा अत्युक्ति नहोला पनि । त्यतिखेर नेपालले भारतबाट नयाँ मुलुककोरुपमा चिनिएका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता लिन सक्नु पनि चानचुने विजय थिएन देशका लागि ।

एक समय निर्यात गरेको बाँचको मुलुक हो यो, अहिले आयातमा टिकेको छ । देशका सबै खेतबारी उर्वर थिए कुनै बेला, अहिले यही नेपालीले धेरै देशलाई उर्वर बनाए । सबै थोक सकेर गुमाउँदै गर्दा गरिने राष्ट्रवादको तर्क र कुरा बेकारका बनिसके अब ।

यसपटक कोरोनाले दक्षिणतिरको खुला सीमाबाट दुःख दियो । विदेशमा रहेका धेरै नेपाली घर फर्कन हतारिनु प¥यो । विपत्तिले जुराएको यो अवस्थालाई भने अवसरको रुपमा नेपालले लिनै पर्छ । किनेर खाने कि बेचेर बाँच्ने अब यही मन्त्रमा अडिग नबनि हुन्न नेपाल र नेपालीले ।

अस्थिरता र गरीब हुँदा हेपिनुको पीडा कति दुख्दो रछ भन्ने लिपुलेकले देखायो । आफनो बारी बाँझो राखेर विदेशको बगरलाई हरियाली बनाउँदाको पीडा यसपटक दुख्यो । अब देश बनाउँ, देश बनेपछि जनता बन्छन्, जनता बनेपछि राष्ट्रवाद जहिले पनि एउटै परिभाषा बोकेर आम नेपालीको मुटुमा कोरिने पक्का छ ।

नभए पुर्खाहरुले खुडा पखालेको काली नदीमा भारतीयहरुले घुँडा पखालेको हेरेर बाँच्नु पर्ने अपमान हरेक पुस्ताले भोगिरहने छन् ।

(लेखक नेपाली काँग्रेसका युवा नेता हुन् र यो उनको निजी विचार हो)


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com