२४ जेष्ठ २०७७, शनिबार
  • नवीन कुलुङ

काठमाडाैं, २४ जेठ । अहिले सामाजिक सञ्जालमा अनलाइन कक्षा सञ्चालन गरेका धेरै तस्वीरहरू देखिरहेका छौँ । अनलाइन कक्षा सञ्चालन गरियो भनेर शिक्षक, विद्यार्थी र अभिभावकहरू जुममा भइरहेका कक्षाहरूका फोटा सामाजिक सञ्जालमा राख्न व्यस्त छन् ।

कोरोना रोकथामका लागि सरकारले लकडाउन गरेपछि अनलाइन कक्षा सञ्चालनले बढी चर्चा पाउन थालेको हो । सरकारले लकडाउन गरेपछि विद्यालय र विश्वविद्यालय पनि बन्द भए । लाखौँ विद्यार्थीको पठनपाठन रोकियो । त्यसपछि अनलाइन कक्षाको चर्चा सुरु हुन थाल्यो ।
काठमाडौंका केही निजी स्कुलहरूले अनलाइन कक्षा सुरू गर्न थाले । एउटा स्कुलले अनलाइन कक्षा सुरु गरेपछि त्यसको सिको सिक्दै अन्य निजी स्कुलहरूले पनि अनलाइन कक्षा सुरु गर्न थाले ।
निजी शिक्षण संस्थाले अनलाइन कक्षा सञ्चालन गर्न थालेपछि त्रिभुवन विश्वविद्यालय पनि जुर्मुरायो । ‘अनलाइन कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७’ तयार पारेर कार्यकारी परिषद्बाट स्वीकृत गर्यो । वैशाख ८ गते सूचना निकाल्दै त्रिवि मातहतका विभाग र क्याम्पसलाई अनलाइन कक्षा सञ्चालनको वातावरण बनाउन परिपत्र गर्यो ।

अहिले सहरका धेरै विद्यालय र कलेजले अनलाइन माध्यमबाट कक्षाहरू सञ्चालन गरिरहेका छन् । केहीले अनलाइन कक्षा अहिलेको समयमा निकै प्रभावकारी भएको बताउँछन् भने केहीले यसलाई झन्झटिलो कामको भएको बताउछन् ।

यो त सहरका अनलाइन कक्षा लिन पाएका विद्यार्थीहरूका प्रतिक्रिया हो । गाउँका विद्यार्थीहरूलाई त अनलाइन कक्षा न प्रभावकारी न त झन्झटिलो नै, किन भने उनीहरूले अनलाइन कक्षा लिनै पाएका छैनन् । अनलाइन कक्षाको कुरा त परै छाडौँ, कतिको गाउँमा त मोबाइल समेत चल्दैन ।

सहर र गाउँको दूरी

सहरमा बस्नेहरूलाई लाग्छ सक्छ, अहिले त प्रविधिको धेरै विकास भइसक्यो । यो विकास पनि भएको छ, त्यसलाई नर्कान सकिँदैन तर ग्रामीण क्षेत्र अझै पनि ‘टुकी युग’मा रहेको तीतो यथार्थ पनि छ । कसैलाई फोन गर्न पर्यो भने पनि कता नेटवर्क दिन्छ भन्दै डाडाँतिर कुद्नुपर्ने अवस्था छ ।
उनीहरूलाई अनलाइन कक्षाको भन्दा बढी बस्तुभाउ, बाख्राको चिन्ता छ । उनीहरूको हातमा एन्ड्रोइड फोन, ल्यापटप होइन हसियाँ र डोको हुन्छ । खालि समयमा पनि उनीहरू खेलकुदमै सयम बिताइदिन्छन् ।

सहरका पनि सबै विद्यार्थीहरूले कहाँ पढ्न पाएका छन् र अनलाइन कक्षा ? सहरका सबै विद्यार्थीसँग इन्टरनेट, स्मार्ट फोन, कम्प्युटर र ल्यापटप हुन्छ भन्ने पनि हुँदैन । इन्टरनेट भएकाहरूको पनि समस्या उस्तै छ । कतिको त इन्टरनेट छ भन्ने मात्रै छ, नेट भने चल्दैन ।

कत्तिको प्रभावकारी होला अनलाइन पढाइ ?

एनप्याब्सनले गरेको सर्वेक्षण अनुसार पनि निजी विद्यालयमा छोराछोरी पढाउने ३० प्रतिशत अभिभावक मात्रै इन्टरनेटको पहुँचमा रहेका छन् । लकडाउनकै अवधिमा एनप्याब्सनले कास्की, दाङ, मोरङ, बाँके र झापामा सर्वेक्षण गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालनार्थ सूचना जारी त गर्यो तर हरेक विद्यार्थीसँग इन्टरनेटको पहुँच छ छैन भन्ने विषयमा निर्देशिकामा केही छैन । सूचना जारी गर्दा नेपाल र नेपालीका समस्याका विषयमा ध्यान दिइएको देखिँदैन । त्रिविमा पढ्ने हरेक विद्यार्थीसँग ल्यापटप त के हुन्थ्यो ? स्तरीय एन्ड्रोइड मोबाइल पनि छैन ।

विद्यार्थीहरू लकडाउनका कारण विभिन्न भौगोलिक दुरीमा पुगेर अप्ठ्यारोसँग बसिरहेका छन् अनि कसरी प्रभावकारी होला त्रिविमा अनलाइनबाट पढाइ ?

धेरै विद्यार्थीहरू गाउँबाट यहाँ पढ्न आएका छन् । उनीहरू पनि सहरमै केही गरौं, पढ्ने खर्च आफै जुटाउला भनेर आएका हुन्छन् । कोरोनाले गर्दा अहिले उनीहरूको हातमुख जोड्ने बाटो पनि बन्द भएको छ । गाउँबाट खर्च पठाइमाग्न पनि सम्भव छैन । यस्तो अवस्थामा उनीहरूले डाटाबाट इन्टरनेट चलाउन पनि सक्दैनन् । भोको पेट राखेर मोबाइलमा डाटा कसरी चलाउनु ? अनलाइन कक्षाभन्दा ठूलो कुरो त खालीपेट नै होला ।

सहरका कोही विद्यार्थीहरू त गाउँ नै फर्किएका छन् । २०७६ चैत्त ११ गतेदेखि सुरु भएको लकडाउन अगावै र त्यसपिछको अवधिमा पनि कतिपय विद्यार्थी आफ्ना अभिभावकसँग गाउँघरमा बसिरहेका छन् ।

अनलाइन कक्षाले बालबालिकालाई व्यस्त बनाउन केही सहज भए पनि त्यसका लागि घरमा उपयुक्त वातावरण पनि छैन । छोराछोरी पढाउनको लागि गाउँदेखि सहर छिरेकाहरू धेरैले एउटा, दुइटा कोठा लिएर बसेका हुन्छन् । भान्छा कोठा, सुत्ने कोठा वा पढ्ने कोठा जे भने पनि त्यही एउटा कोठा हुन्छ ।

अनलाइन कक्षा ‘हाउगुजी’

त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत भोजपुरका नरेश राई क्याम्पस बन्द भएपछि घर फर्केका छन् । यता उनको कक्षा सञ्चालन भइरहेको छ, अनलाइनबाट । क्याम्पसले उनलाई पनि अनलाइन कक्षामा बस्न आग्रह गर्यो । तर उनको गाउँमा मोबाइल फोन पनि राम्रोसँग चल्दैन । इन्टरनेट चलाउन त परैको कुरा । उनलाई त अनलाइन कक्षा ‘हाउगुजी’ नै भएको छ ।

अनलाइन कक्षा सञ्चालन गर्नुलाई नराम्रो भन्न सकिँदैन । तर दुई-चारवाट विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्यो भन्दैमा सबै विद्यार्थीहरूले अनलाइनबाटै पढिरहेको छ भन्न पनि त मिल्दैन । केही निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्न सक्लान् तर सामुदायिक सबै विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गर्ने अवस्थामा पनि त पुगिसकेका छैनन् ।

धेरै शिक्षकहरूमा कम्प्युटरको ज्ञान समेत छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय समितिअन्तर्गत गठन गरेको शिक्षण विधि र वैकल्पिक व्यवस्था कार्यसमितिले बुझाएको प्रतिवेदनमा शिक्षकको ठूलो हिस्सामा कम्प्युटरको ज्ञानको अभाव छ । शिक्षकमा नै यस खाले सीप नभएपछि विद्यार्थीले कोबाट सिक्ने ?

अध्ययन, मूल्यांकन कसले गर्ने ?

धेरैले अनलाइन कक्षा सञ्चालन गरे तापनि अनलाइन कक्षा कति प्रभावकारी भएको छ ? भन्ने अध्ययान चाहिँ कमैले गरेको पाइन्छ । कतै अनलाइन कक्षा अनलाइनमा देखाउनकै लागि मात्रै त भइरहको छैन ? सामाजिक सञ्जालका फोटाका पृष्ठभूमिमा दराजमा थुनिएका किताब देखाउकै लागि मात्रै त भइरहेको छैन ?

अनलाइन कक्षा सञ्चालनको लागि धेरै सुझावहरू र तर्कहरू सुनियो, पढियो । अनलाइन कक्षा राम्रो कि नराम्रो भन्नेमा आ–आफ्नै तर्क होलान् । सहजता र असहजताका फरक क्षेत्रहरू पनि होलान् तर एउटा कोठाभित्र बसेर निकालिएका सुझाव र तर्कजस्तो सहज छैन नालाइन कक्षा सञ्चालन गर्न ।

ताप्लेजुङदेखि दार्चुलासम्मका विद्यार्थीहरू अनलाइन कक्षामा सहभागी हुन कत्तिको सम्भव छ ? नयाँ शैक्षिकसत्र सञ्चालन भएको ८, ९ महिनापछि पुस्तक पुग्ने ठाउँमा अनलाइन कक्षा सञ्चालन गर्नको लागि कतिको सम्भव छ ? त्यहाँ इन्टरनेट पुगेको छ कि छैन ? यसबारे कसैले अध्ययन, सर्भेक्षण तथा मूल्यांकन गरेको छ ? अनलाइन कक्षा सञ्चालन गर्नुपर्छ भनेर भाषाण गरेजस्तो सजिलो छैन, सबैको पहुँचमा यो पुर्याउन ।

सहरमा पनि बत्ती जाने-आउने कुराको कुनै ठेगान हुँदैन । गाउँमा त बत्ति पुगेकै छैन, बत्ती जाने–आउनेको त कुरै भएन । अहिले पनि ७२ प्रतिशत सार्वजनिक विद्यालयमा कम्प्युटर पुगेको छैन भने ६५ प्रतिशतमा बिजुली पुगेको छैन । केही दिनअघि मात्रै सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार देशभरका २९ हजार ६ सय सात सामुदायिक विद्यालयमध्ये आठ हजार तीन सय ३६ मा कम्प्युटर पुगेको छ 

छात्रवृत्ति नै ८० प्रतिशत फ्रिज

अनलाइन फाराम भर्न नसक्दा सरकारले गरिब विद्यार्थीलाई छात्रवृत्ति दिन छुट्याएको बजेट ८० प्रतिशत फ्रिज हुन्छ । उनीहरू कसरी लिन सक्लान् अनलाइन कक्षा ? वर्षमा एकपटक अनलाइन फाराम भर्न पनि नसक्ने समुदाय भएको देशमा सरकारले कुनै पूर्वाधार विकासविना अनलाइन कक्षा कसरी सञ्चालन गर्लान् ?

गत आर्थिक वर्ष सरकारले माध्यमिक तहका ५३ हजार गरिब विद्यार्थीलाई छात्रवृत्ति दिन अनलाइनमार्फत निवेदन मागेको थियो । तर, १२ हजार सात सय मात्रै छात्रवृत्ति वितरण भयो । कारण, विद्यार्थीहरूमा कम्प्युटर र इन्टरनेको पहुँचै पुगेको छैन । कम्प्युटर, इन्टरनेट मात्रै होइन, रेडियो र टेलिभिजनसमेत घरमा नभएका लाखौँ विद्यार्थीहरू छन् ।

अनलाइन कक्षाले बालबालिकालाई व्यस्त बनाउन केही सहज भए पनि त्यसको लागि घरमा उपयुक्त वातावरण नहुन पनि सक्छ । अनलाइन पढाइ हुने–खानेका लागि मात्रै त भइरहेको छैन ? अनलाइन कक्षामा नियमित तरिकाले भनेको जस्तो पढाइ भइरहेको छ कि छैन ?

हेरौँ शिक्षकहरूको अनुभव

अलनाइन कक्षा पढाइरहेका नवीन गुरुङ भन्नुहुन्छ, ‘अनलाइन पढाउन निकै गाह्रो हुन्छ, कसैले के भन्छन्, कसैले के हल्लाखल्ला बढी हुन्छ, सबैको भिडियो अफ गरेर पढाउनुपर्ने हुन्छ नत्र त सम्भव नै हुँदैन, पढाएकाे बुझ्नेले बुझ्छ, नबुझ्नेले बुझ्दैन, सबै विद्यार्थीलाई बोल्न दिएर त सक्दै सकिँदैन ।’

सरस्वती कलेजका प्रध्यापक रसिक किरात भन्नुहुन्छ, ‘अहिलेसम्म अनलाइन कक्षा केटाकेटीलाई भुलाउने कामजस्तो मात्र भएको छ । हाम्रोमा इन्टरनेटको ठूलो समस्या छ, यो त विद्यार्थी र अभिभावको दिमाग भुट्ने मात्रै हो । अनलाइन कक्षा सञ्चालन गर्दा शिक्षकले बोलेको कुरा एउटा विद्यार्थीले सुरुमै सुन्छ, अर्को विद्यार्थीले २० सकेण्डपछि सुन्छ । अनि कसरी पढाउनु ?’

पशुपति बहुमुखी कलेजका प्रध्यापक नारायण नेपाल भन्नुहुन्छ, ‘अधिकांश जनता प्रविधिको पहुँचमा नरहेको अनि पहुँचमा भएकामध्ये पनि आधाजसो इन्टरनेट सेवा सञ्जालमा नभएको वर्तमान परिप्रेक्ष्यमा अनलाइन शिक्षा केही एनजिओका पक्षधरले भनेजस्तो उत्पादक हुन्न । कोरोनाबन्दले शिथिल बनाएका जनमनमा चामल किन्ने पैसाले सिमकार्ड हाल्न धौधौ परेको यथार्थ छ । कतिपय घरमा झगडासमेत हुनेगरेको सुन्नमा आएको छ । एउटै मोबाइल वा ल्यापटपमा बाँडेर पढाइ हुने कुरा रमाइलो त होला, अपेक्षाकृत समय र पाठ्यपोषण मिलान गर्न सम्भव छैन । अझ सँगैका साथी अनलाइन पढ्छन् ।’

सबै विद्यार्थीसामु अनलाइनको पहुँचा पुर्याउनु र व्यवस्थित गर्नुपर्ने प्राध्यापक नेपाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कति पढिसके होलान् आफू चैँ पछि परिने हो कि भन्ने अधिकांश विद्यार्थीमा तनावको विषय बन्नसक्छ । सम्भव भएकामा भने सामाजिक उत्तरदायित्व बहन गर्ने अर्थमा सकारात्मक पनि छ । शुल्कका कुरा कमाउ दृष्टि राखिएकामा बाहेक सम्बन्धितको सहमतिको विषय हुन सक्छ यो ।’

उहाँ थप्नुहुन्छ, ‘भन्नैपर्दा दूरशिक्षा र प्रविधिशिक्षा जस्ता आधारभूत कुरा समग्रतामा विद्यार्थी अधिकार पनि राख्छन् । अझ महामारीको आजको अवस्थामा अनलाइनजस्तो प्रविधिमैत्री शिक्षापद्धति अत्यन्त महत्त्वपूर्ण छ भन्ने कुरामा दुई मत भने छैन । यसलाई सम्बन्धितका पहुँचमा पुर्याउनु र व्यवस्थित गरिनु सरोकारी सबैको कर्तव्य हुनआउँछ ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV