२३ जेष्ठ २०७७, शुक्रबार
  • दानबहादुर बुढा,

मुगु, २३ जेठ । बिहीवार कोरोना भाईरस पुष्टि भएका मुगु जिल्लाका पहिलो कोरोना संक्रमित २७ वर्षीय युवा गत ६ गते महेन्द्रनगरको वनबासा नाकाबाट नेपाल प्रवेश गरेको खुल्न आएको छ ।

भारतबाट ६ गते महेन्द्रनगर प्रवेश गरेपछि त्यहाँको एक विद्यालयमा राखेर उनी सहित आएका अन्य ४५ जनाको आरडीटी परीक्षण गरिएको र सबैको रिर्पोट नेगेटिभ आएपछि ७ गते बाह्रसिंहे मेट्रो यातायात प्रालिको एउटा बसमा उनीहरु मुगु हिडेका थिए ।

७ गते राति १२ बजे बाँकेको चिसापानी पुगेका उनीहरुलाई त्यहाँ रहेका युवा अगुवा हरिबहादुर रावलले खाजा उपलब्ध गराएपछि राति नै बसमा हिडेको र ८ गते साँझ खत्याड गाँउपालिकाले उनीहरुलाई गाँउपालिकाको वडा नं ५ हलेखाडा पाटनमा स्थापना गरेको क्वारेन्टाइनमा राखेको रातापानी प्राथमिक केन्द्रका प्रमुख डाक्टर किशोर खड्का बताउनु हुन्छ ।

९ गते ४१ जना क्वारेन्टाइनमा बसेका र बाँकी ५ जना सोरु गाँउपालिकाका स्थानीय सोरु गाँउपालिका तर्फ गएको बताईएको छ । ४१ जना उनीहरुसहित अन्य ७ जना पनि पछि सोही क्वारेन्टाइनमा गाँउपालिकाले राखेको थियो ।

उता सोरु गएका ५ जनालाई कालैमा रहेको सोरु गाँउपालिकाको क्वारेन्टाइनमा राखिएको गाँउपालिकाका प्र्रमुख प्रशासकीय अधिकृत धान्य बुढाले बताउनु भयो ।

गाउँपालिकाले घर नपुग्दै भारतबाट आएका उनीहरुलाई सीधै क्वारेन्टाइनमा राखेको र क्वारेन्टाइन गाँउ बस्ती भन्दा धेरै टाढा लेकमा रहेको,समुदायहरुको सम्पर्कमा कोही नरहेकाले घरपरिवार,छरछिमेकीहरुमा कोरोना संक्रमण शून्य सम्भावना रहेको खत्याड गाँउपालिकाका स्वास्थ्य शाखा उप संयोजक हरि बुढाले बताउनु भयो ।

संक्रमित युवालाई बिहीवारै गाँउपालिकाको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसोलेसनमा राखिएको छ भने युवाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

बाँकी खत्याडका ४७ र सोरुका क्वारेन्टाइनमा रहेकाहरुका ५ जनाको पीसीआर परीक्षण गर्ने स्वाव संकलन गर्ने तयारीमा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV