२३ जेष्ठ २०७७, शुक्रबार
  • घनश्याम मिश्र,

जनकपुर, २३ जेठ । व्यवसायीमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न माग गरिएको छ । जनकपुर चेम्बर्स अफ कमर्सले व्यवसायी कुटपीट गर्ने प्रहरीलाई कारबाहीको माग गरेको हो।

कमर्सले प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहलाई ज्ञापनपत्र बुझाउँदै कुटपीट गर्ने प्रहरीलाई कारबाही गर्न तीन दिनको अल्टिमेटम दिएको छ ।

कमर्सका अध्यक्ष विजय साहसहितका पदाधिकारीले डीआईजी सिंहलाई ज्ञापनपत्र बुझाएर व्यवसायी कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग गरेका हुन् ।

ज्ञापनपत्र बुझ्दै प्रदेश प्रहरी प्रमुख डीआईजी सिंहले दोषी प्रहरीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको कमर्सका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले जानकारी दिनुभयो ।

जनकपुरको जानकी चोकमा गिफ्ट पसल सञ्चालन गर्दै आइरहेका व्यवसायी श्याम चौधरीमाथि प्रहरीले बिहीबार निर्घात कुटपिट गरेर दुर्व्यवहार गरेको थियो ।

लकडाउनका कारण लामो समयदेखि बन्द रहेको पसल सरसफाइ गरिरहेका बेला त्यहाँ पुगेको प्रहरी टोलीले चौधरीलाई नियन्त्रणमा लिएर कुटपीट गरेको थियो। प्रहरीको कुटपीटबाट चौधरीको शरीरमा नीलडाम देखिएको छ ।

यस अघि नै विहीवार सांझ कुटपीटमा संलग्न दुई प्रहरीलाई जिल्लाबाट प्रदेश प्रहरीमा झिकाई सकेको र एक प्रहरी अधिकारीको संयोजकत्वमा घटनाको छानवीन समिति समेत गठन गरि सकिएको छ ।

प्रहरीले बिनाकारण व्यवसयी चौधरीका साथै बाटो हिंड्ने सर्वसाधारणलाई समेत कुटपिट गरेको भन्दै प्रहरीको व्यापक आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV