२३ जेष्ठ २०७७, शुक्रबार
  • तारा आचार्य

विराटनगर, २३ जेठ । स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राख्दै प्रदेश नं। १ सरकारले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । गत वर्षहरुमा कृषि, पर्यटन र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले नीति तथा कार्यक्रम बनाउने गरेको थियो ।

शुक्रवार विराटनगर स्थित प्रदेश सभा बैठकमा प्रदेश नं। १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश प्रमुखलाई नीति तथा कार्यक्रम प्रस्तुतिका लागि हस्तान्तरण गर्नुभएको थियो ।

प्रदेश सरकारकोे आगामी बजेटको प्राथमिकता निर्धारण गर्दै प्रस्तुत गरिएको सो नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको छ, यसका लागि प्रदेशमा विशिष्ट स्तरको आरोग्य अस्पताल बनाउने र कोरोना पुनरुत्थान कोष बनाउने लगायत विभिन्न अस्पतालको स्तरोन्नति गरिने उल्लेख गरिएको छ ।

यसैगरी कृषिलाई व्यवसायीकरण र औद्योगिकीकरण गर्दै कोभिड नाइन्टिनका कारण रोजगार गुमाएर विदेशबाट फर्केका युवाहरुलाई कृषि क्षेत्रमा नै रोजगारी दिने गरी कार्यक्रम ल्याइने बताइएको छ । कृषिलाई सम्मानित पेशाको रुपमा स्थापित गर्न कृषिमा दिदै आएको नगद अनुदानलाई हटाएर उत्पादनमा अनुदान दिने व्यवस्था गरिएको छ ।

नीति तथा कार्यक्रममा प्रोजेक्ट बैंकका आधारमा पूर्वाधार निर्माणलाई प्राथमिकता, आवधिक योजनामा निजी क्षेत्रसंग सहकार्य गर्ने र जनतासंग मुख्यमन्त्री कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ ।

यसपटक आर्थिक वृद्धि दर घटेर ३ दशमलब चार एक प्रतिशतमा झर्ने अनुमान गरिएको नीति तथा कार्यक्रममा प्रशासनिक खर्चलाई औचित्यका आधारमा घटाइने उल्लेख छ ।

प्रदेश नं. १ सरकारले यही अषाढ १ गते बजेट ल्याउने तयारी गरिसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV