२३ जेष्ठ २०७७, शुक्रबार
  • नन्दराम खड्का,

रोल्पा, २३ जेठ । मजदुरीका लागि देशका बिभिन्न इट्टाभट्टा तथा भारतबाट गृह जिल्ला फर्किएका रोल्पावासीलाई कोरोनाको परीक्षण नगरी विद्यालय भवनहरुमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।

कोरोना परीक्षण नगरी क्वारेन्टाइन भन्दै अव्यवस्थित तरिकाले विद्यालय भवनमा राख्न थालिएपछि क्वारेन्टाइनमा बसेकाहरूलाई मानसिक र शारीरिक पीडा हुन थालेको छ ।

अन्य जिल्लाहरुमा समयमै कोरोना परीक्षण नगरिदा क्वारेन्टाइनमा बसेकाको मृत्यु र शव अन्टेष्टीपछि मात्र संक्रमणको पुष्टि भएको भन्ने समाचार सुन्दा आफुहरुलाई पनि बेलाबेला डर र चिन्ताले सताउने गरेको रुन्टीगढीका डिल्ली बोहराले बताए ।

महेन्द्र मा.वि. होलेरीस्थित क्वारेन्टाइनमा बसेका बोहराले ढुक्कको वातावरण नहुँदा एकातिर मानसिक तनाव हुने र अर्को तिर पानी पर्दा भवन चुहिने,समयमा खाना नपाइने,कोचाकोच गरेर सुत्नुपर्ने जस्ता समस्याले शारीरिक पीडा महशुस भएको बताए ।

यसअघि पनि रोल्पामा इट्टाभट्टाबाट फर्किएका ७ हजार मजदुरहरुलाई कुनै परीक्षण नगरेर घर पठाइएको थियो । जसले गर्दा केहि समयसम्म मजदुरहरु स्वयं र गाउँ,समाज समेत त्रसित बनेको थियो ।

हाल रोल्पा जिल्लामा २ हजार चौध जना क्वारेन्टाइनमा छन् । उनीहरुलाई कारागारमा राखिए भन्दा पीडा भएको गुनासो गरिरहेका छन् ।

क्वारेन्टाइनको ब्यबस्थापन ठीकै भएको भन्दै किट अभावका कारण स्वास्थ्य परीक्षण गर्न नसकिएकाले घरमै थप क्वारेन्टाइन बस्नुपर्ने भनेर जनप्रतिनिधिहरु पन्छिदै मजदुरहरुको समस्या र त्रासलाई सामान्य रुपमै लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV