२३ जेष्ठ २०७७, शुक्रबार

सुर्खेत, २३ जेठ । सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टाइनमा बसेर घर गएका युवकको कोरोना भाइरसको कारण मृत्यु भएको पुष्टि भएको छ ।

पन्चपुरी नगरपालिका वडा नम्बर १ का २० वर्षीय युवकको बिहीबार बिहान घर नपुग्दै बाटैमा मृत्यु भएपछि पीसीआर जाँच गर्दा पोजेटिभ आएको नगर उप-प्रमुख मुक्तिदेवी रेग्मी (पुरी)ले जानकारी दिनुभयो ।

मृत्यु भएपछि पीसीआर जाँचका लागि बिहीबार नै स्वाब संकलन गरी सदरमुकाम वीरेन्द्रनगर पठाइएकोमा राति नै रिपोर्ट पोजेटिभ आएको उपमेयर रेग्मीले जानकारी दिनुभयाे ।

जिल्ला जनस्वास्थ्य कार्यलय सुर्खतका प्रमुख चेतन शर्माले उक्त युवकमा काेराेना पाेजेटिभ भएकाे पुष्टि गर्नुभएकाे उप-प्रमुख रेग्मीले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, ‘जिल्ला जनस्वास्थ्य कार्यलय सुर्खेतका प्रमुख चेतन शर्मालाई फोन गरेकी थिएँ, उहाँले काेराेना रिपाेर्ट पाेजेटिभ आएकाे जानकारी दिनुभयाे ।’

भारतबाट आएका ती युवक जनता मावि विद्यापुरको क्वारेन्टाइनमा बसेका थिए । आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि २१ गते दिउँसो घर गएका उनको सोही दिन राति २ बजे मृत्यु भएको थियो । उनी घर भने पुगेका थिएनन् । उनीसहित अन्या पाँचजना वार्ड नं एककाे एउटा सामुदायिक भवनमा बसेका थिए ।

मर्नुभन्दा अगाडि चेक गर्दा नेगेटिभ र मरिसकेपछि पाेजेटिभ आएपछि जनाप्रतिनिधि नै छक्क परेका छन् । ‘अहिले हाम्राे नेपालमा मान्छे मरिसकेपछि मात्रै कोरोना पोजेटिभ आउने गरेकाे छ । यो मेसिन उस्ताे हो कि ? खै के हो यो ? केही बुझ्नै नसकिने भयो,’ उपमेयर रेग्मीले भन्नुभयाे, ‘पहिला चेक गर्दा खेरी नेगेटिभ आउने, मरिसकेपछि चेक गर्दा पोजेटिभ आउने यो के हो ? के हो ? केही बुझ्न सकिएन ।’

मृतक युवकको शवलाई प्रहरीले सुरक्षा दिइरहेको र दाहसँस्कारका लागि वीरेन्द्रनगरबाट सेनाको टोली आउने तयारी गरेको उहाँले बताउनुभयाे । मृतक युवकसँगै जनता माविको क्वारेन्टाइनमा ५४ जना थिए । उनीहरुको कोरोना परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखिएकाे थियाे ।

यसैबीच, कर्णाली प्रदेश सामाजिक मन्त्रालयले पनि ती युवककाे काेराेना रिपाेर्ट पाेजेटिभ अाएकाे विज्ञप्ती सार्वजिनक गरेकाे छ । हेर्नुहाेस्-

प्रतिक्रिया दिनुहोस्
LIVE TV