२२ जेष्ठ २०७७, बिहीबार

काठमाडौं, २२ जेठ । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई लकडाउन खुकुलो पार्ने मोडालिटी २ दिनभित्र पेश गर्न जिम्मा दिएको छ ।

पमन्त्रिपरिषद् बैठकले उच्च स्तरीय समितिलाई लकडाउन खुकुलो पार्ने मोडालिटीसहितको कार्ययोजना पेश गर्न जिम्मा दिने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उक्त बैठकमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण र यसको प्रभावका बारेमा छलफल भएको बताइएको छ ।

बैठकमा कोरोना संक्रमितको थपिदो संख्या र लकडाउनको विषयलाई लिएर उठन थालेको असन्तुष्टिको विषयमा समेत छलफल भएको थियो ।

मन्त्रीहरुले लकडाउन खुकुलो पार्नुपर्ने धाराणा व्यक्त गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय समितिलाई मोडालिटी टुंगो लगाउन निर्देशन दिनु भएको बताइएको छ ।

लकडाउन खुकुलो भयो भनेर असन्तुष्टि प्रकट गर्दै आउनु भएका प्रधानमन्त्री ओलीले बुधबार वालुवाटारमा भएको छलफलका क्रममा आएका सुझावहरुलाई पनि ध्यान दिन निर्देशन दिनु भएको एक मन्त्रीले बताए ।

सरकारले गत चैत ११ गतेदेखि लगाउँदै आएको लकडाउन बिभिन्न चरणमा थप्दै गएको छ । पछिल्लो पटक थपिएको समयावधि जेठ ३२ सम्म लागू हुनेछ ।

यसैगरी सीमा र हवाई उडानमा लगाएको प्रतिबन्ध असार १६ गतेसम्मका लागि तोकिएको छ । सरकारले अब जेठ ३१ गते मात्र लकडाउनको बारेमा नयाँ मोडालिटी तोक्ने सम्भावना रहेको पनि ती मन्त्रीले न्यूज २४ लाई बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV