२२ जेष्ठ २०७७, बिहीबार
  • नन्दराम खड्का

रोल्पा,२२ जेठ । रोल्पाका द्वन्द पीडितहरुलाई दैनिकी गुजार्न हम्मेहम्मे परिरहेको छ । लम्बिदो लकडाउन र परिवारमा कमाउने कोही नहुँदा उनीहरुमा यस्तो समस्याको शुरु भएको हो ।

रोल्पा रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ सरेचौर स्थित २३ बर्षका बामदेव बि।कलाई मजदुरीका लागि होलेरी बजार आएको समयमा माओवादीको संज्ञा दिदै २०५९ सात चैत ११ गते तत्कालीन सेनाले गोली हानेर हत्या गरेको थियो ।

मृतक बि।क।का परिवारले किस्ताबन्दीमा १० लाख राहत रकम त पाए तर घरमा कमाउने कोही पनि नहुँदा त्यो राहत धेरै समय टिक्न सकेन । मृतक बिकको परिवारमा हातपाखुरा बसेका वृद्ध बुवाआमा,श्रीमती,एक छोरा र एक छोरी छन् ।

यस अघिसम्म मृतक बिककि श्रीमती तुलसी विकले नै मजदुरी गरेर जसोतसो परिवार पालिरहेकी थिइन । तर लम्बिदो लकडाउनका कारण अहिले कतै पनि काम पाउन नसकेको उनको गुनासो छ । दिनभर मजदुरी गरेरै साँझ चुलोमा आगो बाल्ने उक्त परिवारले अहिले छिमेक मै ऐचोपैचो गरेरै दैनिकी चलाइरहेको पीडा पनि तुलसीले सुनाइन् ।

बिपन्न परिवारहरुका लागि भनेर रुन्टीगढी गाउँपालिकाले दुई महिना अघि प्रत्येक परिवारको प्रति ब्यक्ति ५ किलो चामल राहत स्वरुप बितरण गरे पनि त्यसपछि फर्केर नहेरेको गुनासो वृद्ध बुवा भैरहव बहादुर विकले सुनाए ।

यता रुन्टीगढी गाउँपालिकाले दोश्रो चरणको राहत बितरण गर्ने वा काम गर्ने वातावरणको सिर्जना गरेर ज्याला दिने भन्ने बिषयमा छलफल भइरहेको गाउँपालिकाका प्रवक्ता जगतबहादुर घर्तीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV