२२ जेष्ठ २०७७, बिहीबार
  • मनोज श्रीवास्तव

कपिलवस्तु, २२ जेठ । कोरोना संक्रमितलाई राख्न बनाइएको आइसोलेसन अस्तव्यस्त र अव्यवस्थित रहेकाे भन्दै संक्रमितहरू बस्न मानेका छैनन् । उक्त आइसोलेसन सेन्टरभन्दा पूर्ववत विद्यालयकाे भवनमा रहेकाे क्वारेन्टाइन नै ठीक रहेकाे भन्दै शुद्धोधन गाँउपालिकामा भेटिएका संक्रमित आफू खुसी फर्किएका छन् ।

बुधबार जिल्लाको शुद्धोधन गाँउपालिकाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित सबै शुद्धोधन गाँउपालिका वडा नं ६ का थिए । सो वडाको गौराका मात्रै १९ जनामा संक्रमण पुष्टि भएको थियो भने अरु संक्रमित महादेव र बेलभरिया गाँउका थिए ।

संक्रमण देखिएका व्यक्ति वडा नम्बर ६ को गौरास्थित आधारभूत विद्यालयकाे क्वारेन्टाइनका हुन् । उनीहरुलाई संक्रमण देखिएपछि एम्बुलेन्समा राखेर शुद्धोधन गाँउपालिकाको लबनीमा रहेको अल शेख हस्पिटलमा निर्मित आइसोलेसनन सेन्टरमा लगिएको थियो । १५ शैया क्षमताको सो आइसोलेसनमा यसअघि संक्रमण देखिएकामध्ये १ जना थिए । थपिएका २८ जनापछि संक्रमितको संख्या २९ पुगेको थियो ।

तर सेन्टर व्यवस्थित नरहेकाे पाइएपछि आफूहरु पुनः गौराकै क्वारेन्टाइनमा बस्नेगरी त्यहाँबाट हिँडेको एक संक्रमितले बताए । क्वारेन्टाइनबाट आफूहरुलाई आइसोलेसन भनेर लगिए पनि सुत्नका लागी बाहिर टिनको बरण्डामा टेन्टका खाट ओछ्याइएको, पंखा नभएको तथा सफा शौचालयको सुविधा समेत नभएको संक्रमितहरूको गुनासो छ ।

के भन्छन् स्वास्थ्य संयाेजक ?

मासिक ३० हजार रुपैयाँ भाडामा लिई अल शेख नामक निजी अस्पतालमा १५ शैयाको आइसोलेसन तयार पारेको गाँउपालिकाका स्वास्थ्य शाखाका संयोजक असफाक अहमद खाँले जानकारी दिए ।

“संक्रमितलाई राख्न १५ शैयाको आइसोलेसन बनाएका थियौँ । आईसाेलेशनको क्षमताभन्दा बढी संक्रमित फेला परेपछि तत्कालै पालिकाबाट २५ बेड किनेर बस्ने व्यवस्था मिलायौं । तर कसैको उक्साहटमा क्वारेन्टाइनमै फर्कन्छौ भन्दै संक्रमितहरू हिडेछन्,” उनले भने ।

आइसोलेसनमा संक्रमितका लागि खानाको व्यवस्था भैसक्दा उनीहरु विभिन्न बहाना झिक्दै फर्किएको उनले गुनासो गरे । “२९ जना संक्रमितलाई खाना तयार भैसकेको छ । मैले उनीहरुलाई कहाँबाट समातेर ल्याउँ ?” उनकाे प्रश्न छ ।

प्रहरीले भेट्टायाे बाटैमा

यता घटनाबारे जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय पकडीको टोली संक्रमितको खोजीमा लागेको थियो । लबनीस्थित आइसाेलेसन सेन्टरबाट हिँडेका उनीहरुलाई प्रहरीले बाटैको टिटिहिरिया भन्ने स्थानमा समूहमै रहेकाे बेला फेला पारेको थियो ।

आइसोलेसनमा बस्न नमानेर पुनः गौरास्थित क्वारेन्टाइनमा फर्किएका १९ जनालाई आधारभुत विद्यालय गौरामा लगी छुट्टै भवनमा राखिएको ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक गणेश सुवेदीले जानकारी दिए ।

अधिकारकर्मीकाे भनाइ

सरकारले तोकेको मापदण्ड अनुरुपको आइसोलेसन सञ्चालन गर्ने, संक्रमण देखिएकालाई संक्रमण फैलन नपाउने वातावरण बनाउने र अरुमा संक्रमण हुन नदिन व्यवस्था गर्न पालिकाले भुमिका खेल्नुपर्ने अधिकारकर्मी शैलेन्द्र अम्बेडकर बताउछन् ।

आइसोलेसन सेन्टर संक्रमितको मनोबल वृद्धि हुने स्थान चयन गरी सुरक्षित स्थानमा राख्नुपर्नेमा गाँउपालिका जिम्मेबार नबनी दायित्वबाटपछि हट्दा समस्या आएको उनले बताए । संक्रमितलाई सहि व्यवस्थापन नगरेका कारण हुन सक्ने सम्भावित जोखिमको जिम्मेवारी पालिकाले लिनु पर्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV