२२ जेष्ठ २०७७, बिहीबार
  • हरिशंकर शर्मा

वीरगन्ज, २२ जेठ । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनले बन्द रहेका वीरगञ्जका पसलहरु शुक्रबारदेखि खुल्ने भएका छन् ।

लकडाउनले व्यापार सञ्चालन नहुँदा अर्थतन्त्रमा असर पर्नुका साथै दैनिक जीवनयावन अस्तव्यस्त बन्न थालेको भन्दै लकडाउनको विकल्प खोज्न माग गरिएकाे छ । वीरगन्जका व्यापारीहरु यही माग लिएर आन्दोलनमा उत्रिएपछि प्रशासनले शुक्रबारदेखि विभिन्न नियम लागु हुने गरी पसलहरु खोल्न अनुमति दिएको हो ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले कारोना संक्रमण नियन्त्रणका लागि जेठ ३२ गतेसम्म लागु गरिएको लकडाउनलाई प्रभावकारी बनाउनुका साथै लामो समयदेखि व्यापार व्यावसाय बन्द रहेको कारण अर्थतन्त्रमा पर्न गएको असरलाई मध्यनजर गर्दै यहाँँका उद्योगी व्यवसायीहरुले व्यवसाय सुचारू गर्न माग गरेका थिए । उनीहरूले कोरोना संक्रमण नफैलिने गरी व्यवसायलाई संचालन गर्न वातावरण मिलाउन भनी गरेको आग्रहलाई मध्यनजर गर्दै यस्ताे निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी गराए ।

संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णयअनुसार पसलहरु सञ्चालन गर्न केही नियमहरु पनि लागु गरिएको छ । जसअनुसार औषधी पसल चाैबीसै घण्टा खुल्नेछन् भने बैंक तथा वित्तीय संस्थाहरु नियमित रुपमा खुल्नेछन् ।

यसैगरि अत्यावश्यक वस्तुहरु (जस्तोः खाद्य, किराना, आलु, प्याज, पानी, दूध, ग्यास, तरकारी तथा फलफुल)का पसलहरु हरेक दिन बिहान ५ बजेदेखि ९ बजेसम्म खोल्ने अनुमति दिइएको छ । यसैगरी रेडिमेट, कपडा, कस्मेटिक, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स आदिका पसलहरु जोर गते बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने अनुमति दिइएको छ ।

यसैगरी हार्डवेयर, साइकल, मोटर तथा मोटर पार्टस्, अटोवर्क्स, भाँडावर्तन, सुनचाँदी, फर्निचर तथा अन्य पसलहरु बेजोर गते विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने अनुमति दिइएको छ । माछा, कुखुरा तथा सोको दाना, पशु आहार, खाद्य किराना, कृषि उत्पादन, मल, बीउ, सिमेन्ट, डण्डी, जस्तापाता, कोइला, विटुमिन तेल, क्लिंकर, निर्माण सामाग्री लगायत अन्य मालवस्तुको ढुवानी हरेक दिन साँझ ७ बजेपछि गर्ने अनुमति दिइएको सहायक प्रजिअ बस्नेतले बताए ।

पसल खोल्न दिइएको अनुमतिको क्रममा व्यापारी तथा ग्राहकहरुले स्वास्थ्य सतर्कताका नियमको पालना पनि गर्नुपर्ने संकट व्यवस्थापन केन्द्रको बैठकले निणर्य गरेको थियो । व्यापार सञ्चालन गर्दा व्यापारी तथा ग्राहक दुबैले कम्तिमा तीन फिटको दुरी कायम गर्नुपर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने, बैंक, वित्तिय संस्था तथा पसलहरुमा सेनेटाइजरको व्यवस्था गर्नुपर्ने, व्यापार व्यावसाय संचालन गर्न अथवा सामानहरु किनमेल गर्न जाँदा सवारी साधनको प्रयोग नगर्ने, आवश्यक नै परे सहरभन्दा बाहिर तोकिएको स्थानमा पार्किङ्ग गर्ने तथा यि नियमलाई पालना नगरेको पाइएमा कानून बमोजिम कारवाही समेत गरिने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV