२१ जेष्ठ २०७७, बुधबार

काठमाडौं, २१ जेठ । कोरोना महामारीका कारण विगत डेढ महिनादेखि सबै स्कुलहरु बन्द छन्, भने पठन–पाठन पनि ठप्प छ । तर, यसरी स्कुलहरु बन्द भएर पठन–पाठन ठप्प हुँदा केही स्कुलहरुले मासिक शूल्क भने धमाधम असुल्न थालेका छन् ।

जसको ताजा उदाहरण हो ललितपुरको खुमलटारस्थित ‘युलेन्स स्कुल ।’ युलेन्स स्कुलले बैशाख महिनादेखि असारसम्मको शूल्क तिर्न बाध्य बनाएको भन्दै अभिभावकहरुले चरम असन्तुष्टि प्रकट गरेका छन् ।

यस्तो महामारीको समयमा स्कुल बन्द हुँदा शूल्कमा सहुलियत दिनुको सट्टा स्कुलले ‘इमर्जेन्सी फन्ड’लगायतका विभिन्न वहानामा बढी शूल्क असुल्दै आएको आएको भन्दै अभिभावकहरु असन्तुष्ट बनेका हुन् ।

केही अभिभावहरुका अनुसार स्कुलले चैत महिनाको पूरै शूल्क लिएको र बैशाखदेखि असारसम्मको २० प्रतिशत घटाएर शूल्क मागेको छ । त्यस्तै, भोलिसम्ममा शूल्क बुझाउनु पनि भनिएको छ ।

सरकारले नै चैत महिनाको शूल्क मिनाहा गर्न निर्देशन दिइसकेको छ । तर, युलेन्स स्कुलले भने शैक्षिक सत्र सुरु नभई शूल्क मागेको भन्दै अभिभावकहरुले सामूहिक रुपमा मुद्दा हाल्ने तयारीमा रहेका जानकारी गराएका छन् ।

अहिले उक्त स्कुलले दैनिक डेढ घण्टा अनलाइन कक्षा लिदै आएको र उक्त ‘इमर्जेन्सी फन्ड’को रुपमा उठाएको रकमले शिक्षकलाई ल्यापटप खरिद गर्ने स्कुलले जानकारी गराएको अभिभावहरुको भनाइ छ ।

अभिभावकहरुले विद्यालयका अनियमितता अनुगमन तथा नियमनको जिम्मा पाएको स्थानीय तहले यस्ता समस्या समाधान गर्न नसकेको गुनासो गरेको छन् । तर, ललितपुर महानगरपालिकाका शिक्षा महाशाखाले अनियमितताको विषयमा कुनै पनि उजुरी नआएको जनाएको छ ।

मन्त्रालयबाट कुनै निर्देशन नआइ कसैलाई शल्क तिर्न बाध्य बनाउन नमिल्ने पनि ललितपुर महानगरपालिकाका शिक्षा महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV