२१ जेष्ठ २०७७, बुधबार
  • बाल बिक्रम कार्की,

रौतहट, २१ जेठ । रौतहटको क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी कुटिएका छन् । जिल्लाको राजपुर नगरपालिका–९ को बैरियास्थित ठूलो मदरसा क्वारेन्टिनमा बसेका व्यक्तिहरूले स्वास्थ्यकर्मी माथि आक्रमण गरेका हुन् ।

आक्रमणबाट दुई जना स्वास्थ्यकर्मी घाइते भएका छन् । घाइते हुनेमा सिनियर अहेव खुर्सीद आलम र रामनरेश साह रहेका छन् । आक्रमणबाट आलमको टाउको फुटेको छ ।

उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। क्वारेन्टाइनमा बसेकाहरूको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपनि संक्रमतिसँगै केही दिन बसेकाले आरडीटी परीक्षण गराएरमात्रै घर पठाउने भन्दै आरडीटी परिक्षण गर्ने क्रममा ३० जनाको आरडीटी पोजेटिभ देखिएपछि उनीहरूलाई पुनः क्वारेन्टाइनमै राखेर पीसीआर विधिद्वारा परीक्षण गरेर मात्र घर पठाउने भनेपछि विवाद सृजना भएको राजपुर नगरपालिकाका स्वास्थ्य संयोजक रवीन्द्र कुमार झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्वारेन्टाइनमा रहेका १८४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएकोमा घर पठाउने क्रममा १०५ जनाको आरडीटी परीक्षण गरिसक्दा ३० जनाको पोजेटिभ आएको हो । त्यसपछि क्वारेन्टाइनमा बसेकाहरू एक्कासि स्वास्थ्यकर्मीमाथिनै आक्रमण गरेको उहाँको भनाइ छ ।

‘क्वारेन्टाइनमा बसेकामध्ये नेगेटिभ रिपोर्ट आएका व्यक्तिहरू पनि केही दिन संक्रमितसँगै बसेकाले प्रशासनको निर्देशनमा आरडीटी परीक्षण गराएरमात्रै पठाउनका लागि आरडिटी परीक्षण गर्दै थियौं, उहाँले भन्नुभयो, ‘त्यस क्रममा केही व्यक्तिको पोजेटिभ देखिन थालेपछि विवाद सुरूभयो । विवाद बढ्दै गएपछि उनीहरूले हामी माथिनै आक्रमण गरे ।’

उहाँले स्थानीय प्रशासनले सुरक्षाको प्रत्याभूति नगरेसम्म तथा दोषीलाई कारवाही नगरेसम्म काममा नफर्ने बताउनुभयो । आक्रमणकारीहरूले स्वास्थ्यकर्मीले प्रयोग गर्ने सवारीसाधनहरू पनि तोडफोड गरेका छन् । विवादपछि पीसीआर नेगेटिभ आएका सबैलाई घर पठाइएको छ ।

दोस्रो लटमा सो क्वारेन्टाइनमा बस्ने २०९ जनाको पीसीआर परीक्षण गर्दा ६९ जनामा संक्रमण पुष्टि भइसकेको छ । विवाद बढ्दै गएपछि जिल्लाका विभिन्न स्थानबाट थप मद्दतका लागि सुरक्षाकर्मी सो क्वारेन्टाइनमा पठाइएको थियो । नेगेटिभ आएका सबैलाई घर पठाउने भनेपछि विवाद साम्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV