२१ जेष्ठ २०७७, बुधबार
  • अमर काफ्ले

इनरुवा, २१ जेठ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर ८ मा रहेको क्वारेन्टाइनमा बस्दै आएका ७ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।

भारतबाट फर्किएयता क्वारेन्टाइनमा बसेका ५१ जनामध्ये ४० जनाको स्वाब परीक्षण गरिएकोमा ७ जना पोजिटिभ पाइएका हुन् ।

जामिला जियाउल उलुम मदरसामा बस्दै आएका ७ जना कोरोना संक्रमितमध्ये ३ जना विद्यार्थी रहेका छन् । भारतमा अध्ययनको क्रममा रहेकाहरु उनीहरु १० दिनअघि घर फर्किएका हुन् । अन्य ४ जना भने गुजरातमा कामको सिलसिलामा गएका व्यक्तिहरु हुन् ।

संक्रमितमध्ये ६ जना सुरुवाती अवस्थाबाटै क्वारेन्टाइनमा रहेको भए पनि एकजना भने भारतबाट फर्किएर घरमा केही दिन बिताएको खुल्न आएको छ । कोरोना संक्रमित पाइएका व्यक्ति घरपरिवारमा समेत केही दिन बसेको पाइएको हुँदा वडा नम्बर ८ लाई सिल गर्नुपर्ने स्थानीयहरुले माग गरेका छन् ।

गाउँपालिकाको कार्यालयका अनुुसार संक्रमितहरुलाई आइसोलेसनमा पठाउने तयारी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV