२१ जेष्ठ २०७७, बुधबार
  • मनोज श्रीवास्तव

कपिलवस्तु, २१ जेठ । बाटो खन्ने क्रममा कपिलवस्तुको विजयनगर गाउँपालिकामा १८ औं र १९ औं शताब्दीका सुन र चाँदीका सिक्का फेला परेका छन् ।

चाँदीजस्तो देखिने ५२ वटा र सुनजस्तो देखिने एउटा सिक्का फेला परेका हो । गाउँपालिकाको वडा नम्बर ७ ढोढरी गाउँदेखि मानपुर जाने बाटो स्तरउन्नतिका लागि जेसीबीले खन्ने क्रममा माटोको भुडकीमा राखिएको चाँदी र सुनजस्तो देखिने सिक्का फेला परेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले बताए ।

बाटो खन्दा माटोका भुडकी फुटे पछि त्यही सिक्का देखिएको थियो । फेला परेको चाँदीको सिक्का १ सय ४१ वर्ष पुरोनो र सुनको एक सय १० बर्ष पुराना हुन । चाँदीका सिक्का सन १८७९ का रहेको र त्यसमा भिक्टाेरिया र वन रुपी लेखिएका छन् । यस्तै, सुनकाे सिक्कामा सन् १९१० का बि सि ब्रिटिस लेखिएकाे छ ।

बाटो खन्दा ३ दिनदेखि स्थानीयले अवरोध गरका थिए । वडाध्यक्ष दिनेश कुमार चौधरीको पहलमा नापी लगाई विवाद समाधान गरी सोही स्थानबाट बाटो खन्ने क्रममा सिक्का भेटिएको थियो । बाटो खन्ने क्रममा स्थानीय ढोढरी निवासी सन्त कुमार कुर्मी (लालमन) को जग्गामा पैसा फेला परेको हो । उक्त सिक्काहरु कुर्मीका बाजेले माटोमा गाडेर राखेको हुन सक्ने वडाध्यक्ष दिनेश कुमार चौधरीले बताए ।

फेला परेका सिक्का अनुसन्धानका लागि पुरातत्व विभागलाई हस्तान्तरण गरिने प्रहरी निरीक्षक नेपालले बताए । पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत राम बहादुर कुँवरले अठारौँ र १९ औँ शताब्दीको प्राचीन सिक्का फेला पर्नु कपिलवस्तुका लागि राम्रो कुरा भएको बताए । उनले फेला परेको सिक्का कपिलवस्तु संग्रहालयमा राखिने बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV