२० जेष्ठ २०७७, मंगलवार

काठमाडौं, २० जेठ । बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइरालाल भैरहवा (बेलहिया) नाका हुँदै स्वदेश फर्किएकी छन् । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीका अनुसार बेलहिया नाका हुँदै अभिनेत्री कोइराला आफ्नो बुबा–आमासँगै निजी गाडीमा मंगलबार स्वदेश फर्किएकी हुन् ।

सीमामा आइपुगेकी अभिनेत्री कोइराला र उनका बुबा–आमालाई नेपाली सेनाको एक टोलीले पिकअप गरेको बताइएको छ । अब अभिनेत्री कोइरालाको परिवार होटलमा क्वारेन्टाइनमा बस्ने जानकारी रुपन्देही प्रशासनले जनाएको छ ।

नेपाल सरकारले केही समय अगाडि नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको समर्थनमा प्रतिक्रिया दिएपछि अभिनेत्री कोइरालालाई भारतीय सञ्चार माध्यमहरुले विवादमा तानेका थिए ।

अभिनेत्री कोइरालाले ट्वीट गर्दै सीमा समस्या समाधानका लागि त्रीपक्षीय वार्ता गुर्नपर्ने बताएकी थिइन् । सोही कुरालाई लिएर भारतीय सञ्चार माध्यमहरुले अभिनेत्री कोइरालालाई ‘भारतको नुन खाएर चीन गीत गाएको’ भन्दै विवादमा तानेका थिए ।

तर देशभित्र भने उनको सर्वत्र प्रशंसा भएको थियो र भइरहेको छ पनि । मनिषा केही दिनको क्वारेन्टाइन बास पछि काठमाडौं आउने बताइएको छ ।

LIVE TV