२० जेष्ठ २०७७, मंगलवार
  • मनोज श्रीवास्तव

कपिलवस्तु, २० जेठ । कपिलवस्तुमा देशभरमै सबै भन्दा बढी व्यक्ति कोरोना भाईरसको संक्रमित देखिए पनि कोरोना अस्पताल नभएको भन्दै तौलिहवाका स्थानीयले प्रदर्शन गरेका छन ।

स्वतः स्फुर्तरुपमा प्रदर्शन गरेका स्थानीयले तौलिहवा स्थित कपिलवस्तु अस्पताललाई कोरोना अस्पतालको रुपमा बिकास गर्नु पर्ने माग गरेका छन । स्वास्थ्य मन्त्रालयको पूर्व योजना अनुरुप कपिलवस्तु अस्पताललाई कोरोना अस्पताल बनाउन आनाकानी भएको भन्दै तौलिहवाका युवाले कपिलवस्तु अस्पतालको मुख्य प्रवेशद्धारमा पप्पलेट बोकी सामाजिक दूरी कायम गर्दै शान्तिपुर्ण रुपमा प्रदर्शन गरेका छन ।

प्रदर्शनमा रहेकाले सामान्य बिरामीको उपचारलाई हाललाई बैकल्पिक व्यवस्था गरी कपिलवस्तु अस्पताललाई तत्काल ५० शैयाको कोरोना अस्पताल बनाउन माग गरेका हुन । जिल्लामा कोरोना संक्रमित भेटिए पनि जटिलता देखिएका अवस्थामा बुटवल र दाङ्ग स्थित कोरोना अस्पतालमा उपचारका लागि जानु पर्ने बाध्यता छ ।

अझै पनि जिल्लाका बिभिन्न क्वारेन्टाइनमा रहेका १ हजार ३ जनाको पीसीआर परिक्षणको प्रतिबेदन आउन बाँकी रहेकाले ठूलो संख्यामा संक्रमित थपिने अनुमान छ । स्थानीय प्रशासनले कपिलवस्तुमा १ हजार जनामा संक्रमण देखिने सक्ने अनुमानका आधारमा पूर्व तयारी थाले पनि जिल्लामा हाल सम्म कोरोना संक्रमितको उपचारका लागि अस्पतालको अभाव छ । अहिले पनि जिल्लाका ३० संक्रमित जिल्ला बाहिरका अस्पताल र आइसोलेसनमा छन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV