२० जेष्ठ २०७७, मंगलवार
  • हरिशंकर शर्मा,

वीरगञ्ज, २० जेठ । आन्तरिक राजस्व विभागद्वारा हालै जारी ‘कर विवरण तथा कर बुझाउने सम्बन्धी सूचना’ प्रति वीरगञ्ज उद्योग वाणिज्य संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाद्वारा जारी विज्ञप्तिमा नेपाल सरकार अर्थमन्त्रालयले जारी गरेको कर वितरण तथा कर बुझाउने सम्बन्धी सूचनाप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा अर्थमन्त्रालयद्वारा जारी सूचनामा कर विवरण, आय विवरण तथा ति विवरण अनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला गर्नुपर्ने म्याद २०७७ साल जेठ २५ गतेसम्म मात्र तोक्नु न्यायोचित नरहेको वीरगन्ज उद्योग वाणिज्य संघको तर्क छ ।

हालको असहज परिस्थितिमा उद्योग, व्यावसायहरु नै शिथिल र थिलथिलो पर्न गएको अवस्थामा उद्योग व्यावसायलाई राहतको प्याकेज ल्याई उद्योगहरुको पुनरुत्थान गर्नुपर्नेमा विभागको उक्त जारी सूचनाले उद्योग व्यावसायीहरु माझ अझ अन्यौलको वातावरण सृजना भएको पनि विज्ञप्तीमा बताइएको छ ।

विभागद्वारा जारी सूचना सर्वोच्च अदालतको पूर्ण इजलासको आदेश विपरित रहेको भन्दै लकडाउनको अवधि गणना नगर्ने भनि सर्वोच्च अदालतबाट फैसला भई सकेको अवस्थामा राजस्व बुझाउने समय निर्धारण गरि पुनः सूचना जारी गर्नु अदालतको समेत अवहेलना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै गृहमन्त्रालयको सूचना र नेपाल सरकारको निर्णय बमोजिम लकडाउनको पालना गरि सम्पूर्ण उद्योग व्यावसाय (अत्यावश्कीय केही उद्योग बाहेक) बन्द रहेको र सम्पूर्ण कार्यालय बन्द नै रहेकोले विद्यमान असहज परिस्थितिलाई विचार गरी हाललाई यस्ता सूचनाहरु जारी नगर्न निर्देशन दिन विज्ञप्ति मार्फत वीरगन्ज उद्योग वाणिज्य संघले अर्थमन्त्रालयलाई अनुरोध समेत गरेको छ ।

LIVE TV