२० जेष्ठ २०७७, मंगलवार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा), २० जेठ । कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनको नाममा वीरगन्जमा पर्सा प्रहरीले जनताहरुलाई दुखः दिने गरेको पाइएको छ । लकडाउनको नाममा प्रहरीले सर्वसाधारणहरुलाई दुःख दिने, धम्काउने, तर्साउनेलगायतका कार्य गर्दै आएको पाइएको हो ।

वीरगञ्जको मुख्य सडक घण्टाघरदेखि माइस्थान, आदर्शनगर, अलखियामठलगायतका स्थानमा प्रहरीको चेकजाँच तैथान छ । मुख्य सडकमा मात्रै प्रहरीको ड्यूटी तैनाथ छ, तर भित्रि गल्ली, टोलटोलमा कुनै किसिमको गस्ती छैन ।

गल्लीभित्र सवारीसाधन लिएर गन्तव्यतर्फ जाने छुट छ, तर मुख्य सडक वारपार गर्न नपाइने व्यवस्था मिलाइएको छ । मुख्य सडकलाई वारपार गर्नेहरुले प्रहरीको विभिन्न धम्की खेप्नु परेको सर्वसाधारणहरुको गुनासो छ ।

करीब तीन महिनासम्म घरमा बस्दा बस्दा आजित भएका सर्वसाधारणहरु घरबाहिर निस्कन खोजिरहेका छन् । लामो समय लकडाउनका कारण आर्थिक अवस्था तहसनहस भइसकेको छ । व्यापार व्यवसाय ठप्प छ । ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरुको दैनिकी कष्टकर बनिसकेको छ ।

लकडाउनले आजित भएका वीरगन्जका व्यापारीहरु सोमबार पसल खोल्नुपर्छ भनेर सडकमा नै उत्रिए । यस अवस्थामा प्रशासनले अहिले वीरगन्जमा लकडाउनलाई केही खुकुलो पारेको छ । महानगरको गल्ली गल्लीमा किराना पसल तथा अन्य पसलहरु पनि खुलिसकेको छ ।

सर्वसाधारणहरुको चहल पहल पनि बढिसकेको छ, तर त्यो गल्लीमा मात्रै सीमित छ । मुख्य सडकमा भने मानिसलाइ देख्ने वित्तिकै प्रहरीले अपराधि झैँ सर्बसाधारहरुलाई व्यवहार गर्ने गरेको छ । मुख्य सडकमा साइकलमा हिँड्नेहरुलाई समेत नियन्त्रणमा लिएर ‘गल्ली हुँदै जाउ’ भन्दै थर्काउने गरेका छन् ।

यस विषयमा वीरगन्जका केही सचेत युवा तथा बुद्धिजिवीहरुले आवाज पनि उठाएका थिए । उनीहरुले सामाजिक सञ्जालमा ‘कोरोना मुख्य सडक मात्रै सर्छ’, ‘लकडाउन खुकुलो भइसक्यो भनेपछि मुख्य सडकमा कफ्र्यू जस्तो कडाई किन ?’ लगायतका नाराहरु लेखेर प्रशासनलाई सचेत गराउन खोजेका थिए ।

तर, उक्त नाराले केही असर गरेन । अहिले पनि वीरगन्जको मुख्य सडकमा कफ्र्यू जारी गरिएझैं कडाई गरिएको छ । मुख्य सडकका पनि केही पसलहरु खुल्ला भएका छन् तर, त्यो पैदल गएर मात्रै किन्ने वातावरण बनाइएको छ ।

मुख्य सडकमा साइकल तथा मोटरसाइकल देख्नेवित्तिकै सुरक्षाकर्मीले थर्काउँदै धपाउने गरेका छन् । मुख्य सडकबाट स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी बाहेक अन्यलाई आवत जावतमा रोक लगाइएको छ ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बाहेक जुनसुकै पास बोकेका व्यक्तिलाई मुख्य सडकबाट आवत जावत गर्न रोक छ, तर, त्यही नजिकैको गल्लीको सडकबाट आवत जावत गर्न कुनै किसिमको रोक छैन ।

यस विषयमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जिल्ला संकट व्यवस्थापन समितिको निर्णय अनुसार बढी भीडभाड हुने ठाउँमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बोहक अन्य सबैको सवारी आवागमनमा रोक लगाइएको बताए ।

त्रिभुवन राजपथ अन्तर्गत पर्ने सडक पावरहाउस चोकदेखि रजतजयन्ती चोकसम्मको मुख्य सडक लगायत घण्टाघर, माइस्थान, आदर्शनगर जस्ता बढी भीडभाड हुने स्थानमा प्रहरी तैनाथ गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV