२० जेष्ठ २०७७, मंगलवार
  • तारा आचार्य,

विराटनगर, २० जेठ । लकडाउनकाबीच सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगहरु आंशिक रुपमा सञ्चालन हुन थालेपछि विराटनगर भन्सार कार्यालयको भन्सार राजस्व संकलन वृद्धि भएको छ ।

जेठ महिना यता स्वास्थ्य सतर्कता अपनाउदै उद्योगहरु सञ्चालन हुन थालेपछि औद्योगिक कच्चा पदार्थहरुको आयात वृद्धि भएको र भन्सार राजस्व संकलन पनि बढेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

बैशाख महिनामा ३ अरब ९८ करोड १६ लाख रुपैयाँ लक्ष्य तोकिएको विराटनगर भन्सार कार्यालयले करिब २७ प्रतिशत अर्थात १ अरब ६ करोड ३२ लाख रुपैयाँ मात्र भन्सार राजस्व संकलन गरेको थियो ।

जेठ महिनामा औसत ४२ प्रतिशत भन्सार राजस्व संकलन भइरहेको विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवप्रसाद भण्डारीले जानकारी दिनुभयो । जेठ महिनामा विराटनगर भन्सार कार्यालयलाई ४ अरब ४५ करोड ४९ लाख रुपैयाँ लक्ष्य तोकिएको छ ।

विराटनगर भन्सार कार्यालयले भएर अहिले बिलेट, एमएस वायर, सोयाबिन तेल, पेट्रोलियम पदार्थ लगायतका वस्तुहरुको आयात बढेको छ ।

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७६/७७ को बैशाख महिना सम्ममा ५८ प्रतिशत अर्थात २३ अरब ७८ करोड ५५ लाख रुपैया संकलन गरेको छ । सो भंसार कार्यालयलाई बैशाख महिना सम्म ४१ अरब ६ करोड ३८ लाख रुपैयाँ लक्ष्य तोकिएको थियो ।

LIVE TV