२० जेष्ठ २०७७, मंगलवार
  • हरिशंकर शर्मा,

वीरगन्ज, २० जेठ । लकडाउनको मौका छोपेर तस्करहरुले वन फडानी कार्यलाई तीब्र पारेका छन् । बारा जिल्लाको जितपुर सीमरा उप–महानगरपालिका औराहास्थित प्रगतिशील सामुदायिक वनमा तीब्र रुपमा फडानी भइरहेको हो ।

वन तस्करहरुको साथसाथै गाउँलेहरु पनि वन फडानीमा संलग्न रहेका स्थानीय युवाहरुको भनाइ छ । तस्करहरुले रातको समयमा हरियो सतिसालको रुख काटेर गोलिया बनाई लैजाने गरेका छन् ।

यता, स्थानीयहरु पनि दाउराको नाममा हरियो काचो रुख काटेर घर ल्याउने गरेका छन् । वन संरक्षणका लागि खटेका प्रगतिशील सामुदायिक वन समितिका पदाधिकारीहरुको लापरवाहीको कारण तस्कर तथा स्थानीयहरुले वन फडानी गरिरहेका हुन् ।

गत साता आएको हावाहुरीले रुखहरु ढलेको भन्दै हरियो सालको रुख काटेर तस्करी कार्य बढेको हो । दिनहुँ रातिको समयमा तस्कर र दिनको सममया स्थानीयहरुले हरियो रुख ल्याउने गरेको स्थानीयहरुको भनाइ छ ।

करीब २ सय ५० हेक्टरमा फैलिएको उक्त वनमा सतिसालको रुख संरक्षित रुख हो । वनमा सतिसालको रुखसँगै मसलाको रुख, जामुन, सिरिस, बोर्ड धमेरो लगायतको रुखहरु लगाइएको छ ।

तस्करहरुले सतिसालको स–सानो हरियो रुखहरुलाई खोजी खोजी फडानी गर्न थालेका छन् । तस्करहरुले सतिसालको रुखलाई भित्रभित्रै सिध्याई सकेका छन् । एउटा सतिसालको रुखलाई हुर्काउनको लागि कम्तिमा ३ देखि ५ वर्षसम्म लाग्ने गरेको छ ।

सतिसालको काठको माग बढिरहेको र महंगो मूल्यमा विक्री हुने भएकाले तस्करहरु सतिसालको काठतर्फ बढी आकर्षित हुने गरेका छन् । वनमा अहिले दर्जनौं काटिएको रुखको फेदहरु देख्न सकिन्छ ।

हरियो र काँचो रुखलाई ढालेर तस्करी गर्ने गरेको कारण भोलिको दिनमा वन विनाश नै हुने भनेर स्थानीयहरु चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV