२० जेष्ठ २०७७, मंगलवार

काठमाडौं, २० जेठ । मारवाडी समुदायका चलेका व्यापारिक घरानाका व्यक्तिहरू काठमाडौंमा जुवाकाे खालबाट रंगेहात समातिएका छन् । उनीहरु प’क्राउ परेको प्रसंगकाे चर्चा अहिले व्यापारिक वृत्त नाघेर राजनीतिक क्षेत्रमा समेत भइरहेकाे छ ।

जुवा खेलिरहेको अवस्थामा प्रहरीले रंगेहात नियन्त्रणमा लिएका ती ‘घरानिया जुवाडे’हरूले बनाएको र जुटाएको राजनीतिक हैसियत एवं त्यसबाट लिने गरेको फाइदाका कारण उनीहरूको चर्चा राजनीतिक वृत्तमा पनि हुन पुगेको हो ।

काठमाडौंको कमलादीस्थित गणगौर होटलमा जुवा खेलिरहेकाे अवस्थामा प्रहरीकाे फन्दामा परेकाहरुमा रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल अबुजा र निक्की जोगाई छन् ।

यस्ताे छ राजनीतिक र व्यापारिक हैसियत

जुवाकाे खालबाट नियन्त्रणमा लिइएकाहरु सबै उच्च घरानाका व्यापारी हुन् । त्यस लहरमा अर्थमन्त्री डा युवराज खतिवडाकै ‘दाहिना’ मानिने विशाल ग्रुपका प्रबन्ध सञ्चालक अशोक अग्रवाल पनि छन् ।

अर्थमन्त्री खतिवडासँगको निकटतको फाइदा उठाउँदै अशोकले नेपालमा बेचबिखन हुने सवारी साधनमा मात्र नभएर आफूले कारोबार गर्ने चकलेटको भन्सार शुल्क घटाउन पनि सफल भएका छ्न् । जुन अर्थमन्त्रीले संसदमा पेश गरेको ०७७/७८ को बजेटमा पनि प्रष्ट थाहा पाउन सकिन्छ । अर्थमन्त्रालयले बजेटमा ठाडै विशाल ग्रुपको हित चिताएको प्रष्ट देखिएको जानकारहरु बताउछन् ।

सबैसँग लकडाउनको पास

लकडाउनको समयमा प’क्राउ परेका घरानिया जुवाडेहरुसँग लकडाउनको बेला प्रयोग गर्ने सवारी पास समेत रहेको बताइएको छ । उनीहरूको बारेमा अनुसन्धान गरिरहेको प्रहरी टोलीले सबैसँग लकडाउनको सवारी पास रहेको जानकारी दिएकाे हो ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले घरानिया र राजनीतिक पहुँच देखिए पनि कानून बमोजिमको कारवाहीका लागि अनुसन्धान नरोकिने प्रष्ट पारेका छन् । प’क्राउ परेकाहरु सबै नेपालका प्रतिष्ठित व्यापारी र होटल व्यवसायी भए पनि एक जना भने भारतीय नागरिक रहेको अनुसन्धानबाट खुलेको छ ।

प’क्राउ परेपछि उनीहरु विभिन्न रोगको बिरामी भएको बहाना बनाउँदै हिरासतको बसाइबाट उम्कने प्रयास गरिरहेको बताइएको छ । अघिकांशको उमेर ६० देखि ६५ बीचको रहेकोले पनि उनीहरुरुले विभिन्न रोग वा बिराम भएकाे बहाना बनाइरहेको बताइएको छ ।

अहिले प्रहरीकाे नियन्त्रणमा रहेका उनीहरु सबैलाई मुलुकी अपराध संहिता अनुरुप कारवाही गर्ने तयारी प्रहरीले अगाडि बढाएको छ । गत वर्षको भदौ १ गतेदेखि लागू भएको संहिताअनुरुप जुवा खेल्ने/खेलाउनेलाई पहिलोपटकको हकमा ३ महिनासम्म कैद या ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।

तर राजनीतिक पहुँच, उच्च व्यापारिक हैसियत र कोरोना भाइरस संक्रमणको जाेखिमकाे कारण देखाएर जुवाडेहरू चाँडै छुट्न सक्ने सम्भावना पनि उत्तिकै रहेको टिप्पणी भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV