२० जेष्ठ २०७७, मंगलवार

काठमाडाैं, २० जेठ । नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले नेपाल-भारतबीचको सम्बन्ध विश्वमै अनुपम बनाउन चाहेको बताउनुभएकाे छ । भारतद्वारा अतिक्रमण गरिएको नेपाली भूमि फिर्ता गर्नुपर्ने माग गर्दै उहाँले दुई देशबीच मित्रताको विकल्प नरहेको बताउनुभयाे ।

उहाँले कालापानी मात्र नभएर विभिन्न स्थानमा सीमामा विवाद देखिएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘नेपाल भारतका बीचमा केही समस्या देखापरेको छ, कालापानी मात्र होइन, विभिन्न स्थानमा स्तम्भ उखलिएको छ, सुस्ताबासी धेरै वर्षदेखि पीडामा छन्, ऐतिहासिक दस्तावेज र प्रमाण हेरेर हाम्रो भूमि फिर्ता गरिदिए पुग्छ, हामीसँग भएका असमान सन्धिहरु प्रतिस्थापन गर्नुपर्ने आवश्यकता छ ।’

 श्रेष्ठले विगतमा अतिक्रमणकारी, र कब्जा गर्ने प्रवृत्ति सच्याउँदै सत्यको पक्षमा उभिन पनि भारतीय प्रधानमन्त्री मोदीलाई आग्रह गर्नुभयाे । ‘हिजोको जुन अतिक्रमणकारी, कब्जा गर्ने प्रवृति रह्यो त्यसलाई सच्याएर सत्यको पक्षमा उभिन्छौँ र नेपाल–भारत सम्बन्धको सम्बन्ध सुधार गराउँछौँ,’ उहाँले भन्नुभयाे ।

श्रेष्ठले १९५० को सन्धि प्रतिस्थापन गर्नुपर्ने आवश्यकता रहेकाे पनि बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘१९५० को सन्धि प्रतिस्थापन गरौं भनेर हामी भनिरहेका छौ। यो आजको आवश्यकता पनि हो। आन्तरिक हस्तक्षेप नहोस् भन्ने हामी चाहान्छौँ ।’

उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथ र मुक्तिनाथसँग आराधना गरी सत्यको मार्गमा हिँड्ने शक्ति लिन आग्रह गर्नुभयाे ।  ‘यो बेलामा पशुपतिनाथसँग, मुक्तिनाथसँग तपाईंको आध्यात्मिक प्रकृतिको व्यक्तित्वको आधारमा तपाईंले आराधना गर्नुहोस्, तपाईं शक्ति लिनुहोस् । तपाईंले आशीर्वाद लिनुहोस् र यस्तो तपोभूमि, यस्तो पवित्र भूमिको एक इन्च भूमि पनि हामीले लिँदैनौ भनेर सच्चिनुहोस् ,’ श्रेष्ठले भन्नुभयाे ।

उहाँले नेपाल र भारत छिमेकी मात्र नभई दुई देशका बीचमा सामाजिक, सांस्कृतिक र जनस्तरको सम्बन्ध रहेको स्मरण गराउनुभयाे । ‘यो सम्बन्ध बहुआयामिक छ। यसलाई कसरी सुदृढ पार्ने सोच्नु पर्छ’, उनले थपे, ‘यसको विकल्प भनेको अझ मैत्रीपूर्ण बनाउने नै हो,’ उहाँले भन्नुभयाे ।

उहाँले आफूहरु कुनै पनि अवस्थामा भारतको विरोधी हुन नसक्ने र नभएको प्रष्ट पार्नुभयाे । तर, आफ्नो भूमिको विषयमा कसैसँग सम्झौता गर्न नसक्ने बताउनुभयाे । उहाँले भारतीय सेनापति र पूर्वसचिव कतिपयले लगाएको आरोप खेदजनक भएको पनि बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV