१९ जेष्ठ २०७७, सोमबार

काठमाडौं, १९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणमा सरकारले गरिरहेको काम, विदेशबाट नेपाली ल्याउनेबारे मन्त्रिपरिषदले गरेको निर्णय लगायत समसामयिक विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।

यस्तै, मन्त्रिपरिषदले गरेको सेना परिचालनको प्रस्ताव पनि प्रधामन्त्रीले शीतलनिवासमा पेश गर्नुभएको बुझिएको छ । उक्त प्रस्ताव राष्ट्रपतिले अनुमोदन गर्नुपर्ने संविधानमा उल्लेख छ ।

जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले विदेशबाट आएकालाई र जोखिम बढेको ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको थियो । संविधानको धारा २६७ ९४०मा नेपाल सरकारले नेपाली सेनालाई संघीय कानुन बमोजिम विकास निर्माण र विपद् व्यवस्थापन लगायतका अन्य कार्यमासमेत परिचालन गर्न सकिने उल्लेख छ ।

सेना परिचालन गर्न मन्त्रिपरिषदबाट पठाएर राष्ट्रपतिले अनुमोदन गरेपछि सेना परिचालन गर्न सकिने छ ।

धारा २६७ कै उपधारा ६ मा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृंखलताको कारणले गम्भीर सङ्कट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषदको सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुने प्रावधान छ ।

त्यस्तै उपधारा ६ मा नेपाली सेना परिचालनको घोषणा भएको मितिले एक महिनाभित्र प्रतिनिधिसभाबाट अनुमोदन गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV