१९ जेष्ठ २०७७, सोमबार

काठमाडाैँ, १९ जेठ । मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाज २५ औँ वर्षमा प्रवेश गरेको छ ।

२०५३ जेठ १९ गते स्थापित शान्ति समाजले स्थापना दिवसका सन्दर्भमा जेठ १९ गते बिहान काठमाडाैँ, रुपन्देही र दाङमा प्रदर्शन गरेको छ । कार्यक्रमका दौरान रुकुम पश्चिम घटनाको सत्य तथ्य छानबिनका लागि संसदिय समिति गठन गर्न र दोषीमाथि कानुनसम्मत कारबाही गर्न माग गरेकाे छ ।

समाजले पीडितलाई न्याय र पीडकलाई सजाय दिन माग गर्दै समतामुलक समाज निर्माण गरौँ, जातीय विभेद अन्त्य गरौँ, शान्ति समाजको स्थापना : सामाजिक न्यायका लागि लगायतका नारा अंकित प्लेकार्ड प्रदर्शन गरेको थियो ।

शान्ति समाज काठमाडाैँ शाखाद्वारा काठमाडाैँको जोरपाटीमा आयोजित प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रिय सभापति उत्तम पुडासैनीले साढे दुई दशकदेखि शान्ति, न्याय र स्वतन्त्रताका पक्षमा शान्ति समाज क्रियाशील रहेको चर्चा गर्दै अभियानमा साथ दिने र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

संकटका बेला झनै सक्रिय हुने गरेको शान्ति समाजका विरुद्ध मानव अधिकारकै आवरणमा घृणा र विखण्डनको वकालत गर्ने केही व्यक्ति र संस्था भने सक्रिय देखिएको भन्दै सभापति पुडासैनीले राष्ट्रिय स्वाभिमानका पक्षमा शान्ति समाजको अभियान निरन्तर रहने बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले नेपालको लोकतान्त्रिक आन्दोलनमा शान्ति समाजले निर्वाह गरेको विशिष्ट भुमिकाको चर्चा गर्नुभएको थियो ।

यसैगरी शान्ति समाज रुपन्देही शाखाद्वारा रुपन्देही सैनामैना नगरपालिकास्थित मुर्गियामा आयोजित प्रदर्शनमा बोल्दै वरिष्ठ उपसभापति गोविन्द खनालले रुकुम पश्चिम घटनामा पिडितलाई न्याय र पिडकलाई सजाय नभएसम्म अभियान निरन्तर रहने बताउनुभयो ।

शान्ति समाज दाङ शाखाद्वारा तुलसीपुरमा आयोजित कार्यक्रममा बोल्दै शान्ति समाजका महासचिव सुशिल बस्नेतले रुकुम पश्चिम घटनामा सत्तारुढ नेकपाका केही प्रभावशाली नेताहरुले समाजलाई गुमराह गर्ने गरी खेलेको न्याय विरोधी भूमिकाप्रति आपत्ति व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV