१९ जेष्ठ २०७७, सोमबार
  • घनश्याम मिश्र

जनकपुरधाम, १९ जेठ । धनुषा जिल्लाको विभिन्न स्थानमा यतिबेला कोरोना संक्रमण (कोभिड़-१९) लाई ‘कोरोना माई’ अर्थात् कोरोना देवीको संज्ञा दिएर पूजापाठ सुरु गरिएको छ ।

जनकपुरधाम उप-महानगरपालिका वार्ड ७ को मुसहरी टोल र वार्ड २० देवपुरा रुपैठा भन्ने टोलमा धामी-झाँक्रीसहित पूजापाठ गर्न थालिएकाे हाे ।

‘कोरोना रोग होइन, यो देउता रिसाएर महामारीको रूप लिएको’ भन्दै यतिबेला तराई-मधेशका थुप्रै स्थानहरूमा कोरोना माईको पूजापाठ सुरु गरिएको खबर प्राप्त भएको छ ।

धनुषाको जनकपुरधाम उप महानगरभित्रै यस्तो अन्धविश्वासमा लागेर मुसहर समुदायहरु आ-आफ्नो टोल र ठाउँमा पूजापाठ गर्दै छन् । वार्ड ७ मा राति नै सयकडाैँ महिला र पुरुषहरू भेला भएर चौतारामा धामी-झाँक्रीसहित पूजा गरेको स्थानीय आशा देवीले न्यूज २४ लाई जानकारी दिइन् ।

आशाका अनुसार मुसहर समुदायका एक परिवारलाई भगवानले सपनामा दर्शन दिएर ‘यो कुनै रोग नभएर कोरोना माई (कोरोना आमा/देवी) रिसाएकोले भगवानको पूजापाठ गर’ भनेकाे हवाला चलेपछि उनीहरुले पूजापाठ सुरु गरेका हुन् ।

यस विषयमा आफूलाई कुनै जानकारी नै नरहेको वड़ा नम्बर ७ का अध्यक्ष जामकिराम साहले न्यूज २४ लाई बताए । साहले भने, ‘केही महिलाहरु पूजा सामग्री लिएर हिँडेको मैले पनि देखेँ तर कोरोना पूजा गर्न हिँडेको हो भन्नेमा जानकारी नै छैन ।’

वार्ड ७ कै नेकपाका एक प्रतिनिधि पूर्व वडाअध्यक्ष जिबछ साहले आफूले पनि यो विषयमा सुनेको तर यो एकप्रकारको अन्धविस्वासकै रूम रहेको बताए ।

केही व्यक्ति यस्तो बेलामा समाजमा नकारात्मक रुपमा भ्रम फैलाएर पूजापाठको नाममा चन्दा र भेटी संकलन गर्दै हिड्ने मनसायले पनि यो भ्रम फैलाइएको हुन सक्ने साहको तर्क छ ।

उता वार्ड २० का भुवन झाले न्यूज २४ लाई आफ्नो गाउँ रुपैठामा पनि कोरोना प्रकोपबाट बँच्न पूजापाठ नै सुरु भएको बताएका छन् । झाले भने, ‘रुपैठाबाट बहुअरवा जाने बाटोमा सार्वजिक स्थलमा नै कोरोना पूजा सुरु गरिएको छ ।’

पूजापठा गर्नेलाई उधृत गर्दै झाले भने, ‘भगवानले सपनामा आएर पूजा गर्न भनेपछि पूजापाठ सुरु गरेका हाैँ ।’

उता बारा जिल्लाको कलैया उप महानगर पालिका वार्ड २५ शिसनिया टोलका बासिन्दाले पनि कोरोना पूजा गरेको खबर छ । सामाजिक सञ्जालमा समेत यस प्रकारका पोस्टहरु विभिन्न जिल्लाबाट देखिन थालिएको छ ।

समयमै यस विसयमा ध्यान नदिने हो भन्ने समाजमा अन्धविस्वास र अराजकता फैलने युवा अगुवा सरोज मिश्रको तर्क छ । राज्यले समयमा यस्ता अन्धविस्वाशलाई तोड्नु पर्ने मिश्रको भनाइ रहेको छ । यसरी पूजाकाे नाममा भीड बढ्दा संक्रमण झनै फैलिने खतरा रहन्छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले भने यस विसयमा आफूहरुलाई कुनै प्रकारको जानकारी नै नआएको जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता (डीएसपी) रामेस्वर कार्कीले न्यूज २४ संग कुरा गर्दै भने, ‘अन्धविस्वाशको कारण हुन सक्छ होला तर हामीलाई कुनै जानकारी छैन । यस विषयमा थप बुझ्ने छौ ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV