१९ जेष्ठ २०७७, सोमबार

काठमाडौं, १९ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रुकुममा भएको दलित युवाहरूको हत्याको छानबिन गर्नका लागि दलित सांसदको नेतृत्वमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेकाे छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा कांग्रेसका पक्षबाट बोल्दै सांसद मानबहादुर विश्वकर्माले गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले न्याय दिनेमा विश्वास नरहेको बताउँदै संसदीय छानबिन समित गठनको माग गर्नुभएको हो ।

‘घटनाको निष्पक्ष छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदिय समिति तत्काल गठन होस् । यही माग हामी राख्छौं । यदि तत्काल गठन भएन भने योभन्दा कडा कदम हामीलाई चाल्न बाध्य नपारियोस,’ उहाँले भन्नुभयो ।

गाउँलले मारेर भेरीमा फालेकाे पनि उहाँले बताउनुभयाे । ‘गृहमन्त्रीले उनीहरू भेरीमा हामफाले भन्नुभएको छ । तर पोस्टमार्टम गर्दा मृतकका पेटमा पानी आएको छैन । मान्छे हामफालेपछि पहिले पानी पिउँछ । तर पेटमा पानी नआउनुको कारण मारेर फालिएको थियो,’ उहाँले भन्नुभयाे ।

रुकुमकी मल्ल थरकी युवतीसँग जाजरकोटका नवराज विकले विवाह गर्नका लागि जाँदा केटी पक्षकाले युवाहरूलाई मारेर भेरी नदीमा फालेका थिए । तीमध्ये ५ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV