१८ जेष्ठ २०७७, आईतवार
  • भगतराम थारु,

नेपालगञ्ज, १८ जेठ । नेपालगञ्ज उप–महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ को वजेटमा समपूरक र विशेष अनुदानका सम्बन्धमा केन्द्र सरकारमा लिखित पत्राचार गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा आईतबार बसेको कार्यपालिका बैठकले आगामी आर्थिक बर्षको बजेटमा नेपालगञ्ज उपमहानगरपालिकाका लागि समपूरक र विशेष अनुदानमा वजेट विनियोजन नभएपछि केन्द्र सरकारमा पत्राचार गर्ने निर्णय गरेको हो ।

उप–महानगरपालिकाले समपूरक र विशेष अनुदान शीर्षकमा वजेट विनियोजनका लागि केन्द्रमा पत्राचार गर्ने निर्णय गरेको प्रवक्ता प्रमोद रिजालले जानकारी दिनुभयो । यसैगरी बैठकले नेपालगञ्जको त्रिभूवनचोकमा स्तम्भ निर्माण गरी राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट वडास्तरमा विकास निर्माणका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । नेपालगञ्जको धम्बोझीमा वाटरपार्क छिट्टै सञ्चालनमा आउने भएको छ ।

कार्यपालिका बैठकले वाटरपार्क सञ्चालनका लागि ठेक्का आव्हान गर्ने निर्णय गरेको प्रबक्ता तथा वडा नम्बर १ का अध्यक्ष रिजालले बताउनुभयो । बैठकले फोहोरमैला ब्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गरी थालनी गर्ने र गोबरग्याँसमा अनुदान दिने निर्णय समेत गरेको बैठकपछि उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।

उपमहानगरपालिकामा दरबन्दी भन्दा बढी कर्मचारी भएको सम्बन्धमा पुनरावलोकन गरी बढी भएका कर्मचारीलाई रमाना दिने निर्णय बैठकले गरेको छ । यसैगरी बैठकले राजश्व शाखा सुचारु गर्ने निर्णय गरेको छ । बैठकले वडा नम्बर २० मा खानेपानी आयोजनाको काम अघि बढाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV