
- अमर काफ्ले,
इनरुवा, १८ जेठ । कोरोना भाइरसका कारण रोजगारी गुमाएसँगै घर फर्किनेको संख्या केहि सातायता बढेको छ । दैनिक सयौंको संख्यामा भारतीय नाका हुँदै सुनसरीवासी भित्री रहेका छन् ।
जसमध्ये सदरमुकाम इनरुवामा मात्रै दैनिक सरदर दुई दर्जन बढीको हाराहारीमा भित्रिने गरेको नगरपालिकाको अनुमान छ । जसमध्ये लुकीछिपी सोझै घर पुग्नेलाई क्वारेन्टाइनमा ल्याउन सकस समेत भैरहेको छ ।

भारतबाट फर्किनेको संख्या बढ्दो क्रममा देखिएसँगै इनरुवा नगरपालिकाले क्वारेन्टाइन स्थलको क्षमता बढाउन थालेको छ । उसले क्वारेन्टाइन स्थलसँगै वेड क्षमता समेत बढाउन थालेको छ ।
नगरपालिकाको कार्यालयले कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै पूर्व तयारी स्वरुप क्वारेन्टाइन स्थलको संख्या बढाउदै लगेको जनाएको छ ।
सुरुवाती अवस्थाबाटै नयाँ बसपार्कको भवनमा १० वेडको क्वारेन्टाइन सञ्चालनमा ल्याएको इनरुवा नगरपालिकाले सो स्थानमा २० वेड थपेको छ ।
त्योसँगै इनरुवा नगरपालिकाले भारतबाट भित्रिनेको बढ्दो संख्यालाई मध्यनजर गर्दै पूर्व तयारी स्वरुप थप ३ सय वेड क्षमताको क्वारेन्टाइन सञ्चालनको तयारी थालेको छ ।
जसमध्ये भगवती माबि इनरुवाको भवनलाई १ सय वेड क्षमताको क्वारेन्टाइन स्थलकारुपमा प्रयोग थालि सकिएको छ । इनरुवा नगरपालिकाले शैक्षिक तालिम केन्द्र र सहकारी डिभिजन कार्यालयको भवनलाई क्वारेन्टाइन स्थलका रुपमा सञ्चालनमा ल्याउन लागेको छ ।
डिभिजनको भवनमा ५० र शैक्षिक तालिम केन्द्रमा १ सय ५० वेड प्रयोगमा ल्याउने गरी नगरपालिकाले तयारी अघि बढाएको छ । छिमेकी मुलुक भारतबाट घर फर्किनेको संख्या बढ्दो क्रममा रहेकाले समेत क्वारेन्टाइन स्थलको क्षमता बढाउनु आवश्यक देखिएको नगरपालिकाको ठहर छ ।
बाहिरबाट फर्किने नगरवासीहरुको सवालमा उचित व्यवस्थापनका लागि पूर्व तयारी स्वरुप क्वारेन्टाइन स्थल थप्ने काम भइरहेको नगर प्रमुख राजन मेहताले बताउनुभयो । आवश्यकता परेको खण्डमा थप वेड क्षमताको क्वारेन्टाइन स्थल समेत सञ्चालनमा ल्याउन सकिने गरी बन्दोवस्ती मिलाइएको समेत उहाँले जानकारी दिनुभयो ।
मेहताका अनुसार सुरक्षाको उचित बन्दोवस्तीसहित आवश्यक स्रोत साधन जुटाएर क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ । नगरवासीको स्वास्थ्य जाँच र क्वारेन्टाइनमा बसेकाहरुको उचित रेखदेख सहितको व्यवस्था मिलाउन कसर बाँकी नराखिने नगरपालिकाको भनाइ छ ।
क्वारेन्टाइन स्थलमा बस्नेहरुका लागि खानपिन सहितको बसोबासको व्यवस्था नगरपालिकाको कार्यालयले मिलाउँदै आएको मेहताले बताउनुभयो । जसलाई नयाँ क्वारेन्टाइन स्थलमा समेत निरन्तरता दिइने छ ।
मेहताका अनुसार इनरुवाको सवालमा क्वारेन्टाइन व्यवस्थापनसँगैका अन्य काममा सुनसरी प्रहरीको महत्वपूर्ण साथ र सहयोग प्राप्त भएको छ ।
नगर प्रमुख मेहताले संक्रमणको दर बढ्दो क्रममा रहेकाले स्वयं नगरवासी समेत थप सजक हुन जरुरी रहेको बताउनु भयो । उहाँले लकडाउनको उल्लंघन नगर्न नगरवासी समक्ष आग्रह समेत गर्नुभयो ।
सुनसरीका प्रहरी प्रमुख कमल थापाले समेत क्वारेन्टाइन व्यवस्थापन र संचालन सँगै सुरक्षाको बन्दोवस्ती लगायतका विषयमा नगरपालिकाको कार्यालय विशेष गरी नगर प्रमुख सँगको समन्वयमा काम भैरहेको बताउनुभयो ।
उहाँले इनरुवाको सम्वन्धमा थप केही स्थानको समेत छनौट गरिएको बताउनुभयो । जसलाई आवश्यक्ताका आधारमा क्वारेन्टाइन स्थलका रुपमा प्रयोगमा ल्याउन सकिने छ ।
इनरुवाको हकमा बस पार्कमा २५ जना क्वारेन्टाइनमा रहेका छन् भने भगवती माविमा विहान सम्म १० जनालाई राखिएकोमा थप ७० जना साँझ अबेर सम्म थपिने क्रममा छन् ।