१८ जेष्ठ २०७७, आईतवार

काठमाडौं, १८ जेठ । सांसद विनोदकुमार चौधरीले आर्थिक वर्ष २०७७/७८ को बजेट आशावादी भएको बताउनु भएको छ ।

उहाँले स्वनदर्शी हुनु स्वभाविक भएको बताउदै धरातलीय यथार्थ भने भुल्न नुहने पनि प्रष्ट पार्नुभयो । कोभिड १९ का कारण अहिले देशमा र बजारमा केही चलेका छैनन् , केवल ब्याजको र बिजुलीको मिटर मात्र चलिरहेको यथार्थ नभुल्न पनि उहाँले सुझाव दिनुभयो ।

आइतबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७/७८ को बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, ‘चालू आर्थिक वर्षमा लगभग ८ खर्ब राजश्व उठाउन गइरहेका छौं । जबकि १० महिनासम्म करीब–करीब बजार अर्थतन्त्र चलायमान थियो । अब आउने वर्ष चाँहि त्यो भन्दा पनि बढी १० खर्ब राजश्वको हामीले प्रक्षेपण गर्दैछौं, यो बजेटको माध्यमबाट ।’

यसै सन्दर्भमा उहाँले् थप्नुभयो, ‘साउन १ गतेदेखि नै फेरि प्रि–कोभिडको स्थितिमा राष्ट्र गयो भने पनि यति पैसा उठ्न नसक्ने निश्चित छ । त्यसैले अप्टिमिजम अप्टिमिष्ट हुनुपर्छ । भिजनरी हुनुपर्छ । तर, त्यसको धरातललाई पनि हामीले विर्सनु हुँदैन । तर, अहिले दूभाग्र्यबस कोभिडको संक्रमण बढ्दो छ ।’

पछिल्लो समय नेपालमा पनि कोरोना कोरोना संक्रमितहरु तीब्र रुपमा बढिरहेका सन्दर्भमा उहाँले भन्नुभयो, ‘कोभिडको संक्रमण बढ्दो छ । जति–जति बोर्डरबाट र अब त झन एयरपोर्टबाट समेत बाहिर काम गर्नेहरु फर्किदै जानेछन् । हामीले नचाहँदा नचाहदै पनि यसको चाप बढ्नेछ ।’

लकडाउनका कारण ठप्प बजारको बारेमा बोल्दै उहाँले भन्नुभयो, ‘बजार अहिलेसम्म चल्न सकेको छैन । आजको आवश्यकता भनेको सर्भाइव गर्नु हो । जसको रोजगारी गुमेको छ, जसको आम्दानी बन्द भएको छ ।

रेमिट्यान्स सुक्दै जानाले बजारमा एक प्रकराको लिक्वडीटी, एक प्रकारका् क्यास फ्लो र त्यसले क्रिएट गरेको डिमाण्ड । र, त्यो डिमाण्डबाट सिर्जना भएको बजार, आयात, त्यसबाट जन्मिएको राजश्वले जेनतेन मुलुक धानिरहेको अवस्था थियो ।’

यसै सन्दर्भमा उहाँले थप्नुभयो, ‘तर, अबको स्थिति, अब आउने दिनहरु अत्यन्त कठिन हुनेवाला छन् । आधा भन्दा बढी रेमिट्यान्स सक्किनेछ भन्ने कुरा चारैतिरबाट आउने थालेका छन् । त्यसको प्रभाव सबै भन्दा पहिले ती जसले कमाउथे तिनकै खल्तीमा पर्नेवाला छ । र, त्यसको प्रभाव बजारमा पर्ने वालामा छ ।’

बेरोजगार, सानातिना काम गर्ने, विहान–बेलुका काम गरेर हात–मुख जोड्नेहरुको खल्ती रित्तिसकेको सांसद चौधरीको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘उद्योग बन्द छन् लगभग, ठूला–ठूला ऋण लिएर खडा भएका हाइड्रो, सिमेन्टलगायतका परियोजनाहरु निजी क्षेत्रका र सरकारी पनि प्रोजेक्ट क्षेत्रहरु लगभग बन्द छन् । होटेल बन्द छन्, स्कुलहरु बन्द छन्, हस्पिटलहरु पनि लगभग बन्द छन् । मल, रियलस्टेट सबै बन्द छन्, चालू छ त केवल व्याजको मिटर, बत्तीको मिटर !’

रचनात्मक इन्पुट दिने आफूहरुको काम (ड्यूटी) भएको सांसद चौधरीको भनाइ छ । आफूहरु विरोधी भएपनि सत्रु नभएको उहाँले बताउनुभयो ।

अहिलेको तत्कालको आवश्यकता भनेको उक्त व्याजको मिटर, खर्चको मिटर धान्नका लागि राज्यले सबै सेक्टरहरुलाई समेटेर २ सय ५० अर्बको स्टिमेट देओस भनेर आफ्नो पार्टीले प्रस्ताव राखेको पनि सांसद चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV