१८ जेष्ठ २०७७, आईतवार
  • घनश्याम मिश्र

जनकपुरधाम, १८ जेठ । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि डाक्टरलाई हातपात गरेको विरोधमा आज प्रादेशिक अस्पताल जमकपुरमा डाक्टर/स्वास्थ्यकर्मीहरुले विरोध कार्यक्रम गरेका छन् ।

हाथमा प्ले कार्ड बोकेर झण्डै एक दर्जन डाक्टरहरुको समुहले आज प्रादेशिक अस्पतालमा प्रोटेस्ट गरेका हुन् । जेठ १४ गते नेपाल मेडिकल कलेजमा ६४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको थियो । मृतकका आफन्तले डाक्टरको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएर उपचारमा संलग्न डाक्टरलाई गालीगलौज गर्दै लात्ती र मुक्का प्रहार गरेका थिए ।

डाक्टरमाथि हातपात गर्नेलाई कारबाही गर्नुपर्ने, चिकित्सकहरुको सुरक्षाको प्रत्याभूति हुनपर्ने माग गर्दै चिकित्सकहरुले जनकपुरमा आज सामान्य विरोध कार्यक्रम गरेका हुन् ।

डा सञ्जय यादव, अमित गिरी र सज्जन ठाकुरसहित १२ जनाभन्दा बढ़ी चिकित्सकहरुले अगुवाई गरेको विरोध कार्यक्रममा ‘जेल विदाउट बेल, चिकित्सको आत्मसम्मानको रक्षा गर लगायत नारासहित प्ले कार्ड बाेकेर उनीहरू प्रदर्शनमा उत्रिएका थिए ।

घटनापश्चात यसअघि नै नेपाल चिकित्सक संघले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटी डाक्टर तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रत्याभुति गराउन माग गरेको थियो ।

संघका पदाधिकारीहरुले बिहीबार मन्त्री ढकाललाई भेटेर स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्ण क्षेत्रको रुपमा घोषणा गर्दै अहिले उपचारमा खटिने सबै स्वास्थ्यकर्मीको अनिवार्य स्वास्थ्य बीमा र निशुल्क स्वास्थ्य जाँचको प्रबन्ध मिलाउन समेत माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV