१८ जेष्ठ २०७७, आईतवार
  • डिलबहादुर सिंह

डोटी, १८ जेठ । डोटीको राजपुरमा रहेको प्राइभेट अस्पताल सुजङ्ग अस्पतालमा अप्रेशन गरेकी एक ३ दिने सुत्केरी महिलाको मृत्यु भएको छ । के.आई.सिंह गाउँपालिका वडा नं. ४ कि २९ वर्षिया नारु कार्कीको आइतबार बिहान ४ बजेको समयमा मृत्यु भएको हो ।

मृतक कार्कीलाई गत शुक्रबार के.आई.सिंह गाउँपालिकाको वायलमा सुत्केरी गराउन असम्भव भएपछि सुजङ्ग अस्पतालमा ल्याइएको थियो । शुक्रबार दिउँसो करिब २ बजेतिर उनको अप्रेशन गरेर छोरी जन्मिएको मृतकका जेठाजु पदम सिं कार्कीले बताए ।

अप्रेशन गरेपछि शारीरिक अवस्था सामान्य रहेको र हिजो शनिबार दिउँसो सामान्य हिँडडुल समेत गरेको सुजङ्ग अस्पतालका प्रशासन प्रमूख अर्जुन बलायरले बताए । तर साँझपख मृतक कार्कीले आफूलाई गर्मी बढेको बताएको र राती मुखमा र्‍याल सर्किए जस्तो समस्या देखिएपछि अक्सिजन तथा वाफ समेत दिएको बलायरले बताए ।

यति गर्दा पनि अफ्ठयारो बढ्दै गएपछि उनलाई बाहिर रिफर गर्ने तयारी गरी एम्बुलेन्समा राख्दै गर्दा झनै गाह्रो भएपछि फेरी अस्पतालमै फिर्ता गरेर बचाउन अन्तिम कोशिश गर्दा पनि बचाउन नसकिएको बलायरले बताए ।

उनमा जण्डिसको समस्या पनि रहेको अस्पताल श्रोतले जनाएको छ । नवजात शिशुको अवस्था जन्मिदा सामान्य भए पनि तीन दिनदेखि दुध खान नपाएकाले समस्या रहेको जनाइएको छ ।

अहिले मृतकका आफन्तहरु गाउँबाट अस्पताल आइरहेको र केहिबेरमै शव उठाएर अन्तिम संस्कार गरिने मृतकका जेठाजु पदम सिं कार्कीले बताए ।

मृतक पक्षबाट कुनै गुनासो वा जाहेरी आएमा शवको पोष्टमार्टम गरिने तर उपचारकै क्रममा मृत्यु भएकाले शवको दाहसंस्कार गर्ने भनेमा सोहि बमोजिम शवको आफन्तहरुलाई बुझाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा प्रहरी निरिक्षक कर्ण बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV