१७ जेष्ठ २०७७, शनिबार

काठमाडौं, १७ जेठ । बजेटमा एमसीसी समावेश गरिएको भन्दै विरोध भएपछि नेकपाले सचिवालय बैठक बोलाएको छ । शुक्रबार साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बजेटमा एमसीसी समावेश गरिएको भन्दै अपत्ति जनाएपछि आज आकस्मिक रूपमा सचिवालय बैठक बोलाइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बैठक बसिरहेको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवली, अर्थमन्त्री युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीमबहादुर रावल पनि आमन्त्रित छन् ।

बजेटमा एमसीसी समावेश गर्नेबारे पार्टीमा निर्णय नभएको अध्यक्ष प्रचण्डको तर्क छ । बिहीबार सार्वजनिक भएको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा लप्सीफेदी-रातामाट-हेटौंडा र लप्सीफेदी-रातमाटे-दमौली-बुटवल ४०० केभी अन्तरदेशीय प्रशारण लाइन निर्माण अघि बढाउने उल्लेख छ ।

उक्त अन्तरदेशीय प्रशारण निर्माणका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन गरिएको छ । यसलाई एमसीसी नामाकरण नगरिए पनि घुमाउरो ढङ्गबाट एमसीसीकाे रकम यसमा खर्च गरिने उल्लेख रहेकाे र यसले गर्दा विवादित एमसिसी अनुमोदन हुने दाउ सरकारकाे रहेको भन्दै नेकपा नेताहरूले छलफलका लागि बैठक माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV