१७ जेष्ठ २०७७, शनिबार
  • प्रतिमा कार्की

आफ्नी प्रेमिका लिन जाजरकोटबाट रुकुम पुगेका नवराज विकसहित ५ जनाको हत्या भएको विषय अहिले चर्चामा छ । सडकदेखि सदनसम्म जोडतोडले उठेको यो विषय कता मोडिन्छ, यसै भन्न सकिन्न । घटनामा स्थानीय जनप्रतिनिधि पनि जोडिएकाले पीडितले न्याय पाउछन् नै भनेर विश्वास गर्न सकिने अवस्था छैन । घटनालाई फरक तरिकाले मोड्ने र प्रमाण संकलन गर्ने कार्य भैरहेको बुझिएको छ ।

अन्य कुरा जेसुकै भए पनि विश्वकर्माको छोरा मल्लकी छोरीलाई विहे गर्न गएपछि नै यो पाशविक घटना घटेको प्रस्ट छ । सुन्दै आङ सिरिङ्ग हुने अपराध गर्न रुकुम चौरजहारी गाउँका बासिन्दालाई केले उक्सायो होला ? मानाैँ नवराज विकको ठाउँमा नवराज ढकाल या यस्तै माथिल्लो जात/थरकाे युवक हुन्थ्यो भने घटना यति पाशविक हुँदैनथ्यो ।

कथित ठूला जात भन्नेहरुले यसरी नै दलित वर्गमाथि सदियौँदेखि अन्याय गरिरहेका छन् । उनीहरुमाथिको थिचोमिचो, श्रम शोषण, अपमान र सामाजिक बहिस्कार एवं बदनामीको भारी बोकाइरहेका छन् । समाजमा जातीयता भुसको आगोसरी भित्रभित्रै सल्किरहेको छ । यसले कुनै एक जातिलाई या वर्गलाई मात्रै नभएर सम्पूर्ण मानवतालाई नै डढेलो लगाएको छ । आफूलाई सर्वश्रेष्ठ मान्ने मानिस जातकै आधारमा दलित वर्गमाथि क्रुर व्यवहार गर्न अलिकति पनि लज्जाबोध मान्दैन ।

‘आजको हाम्रो नेपाली समाजमा पनि जातीय छुवाछुत हुन्छ र ?’ भनेर गफिँदै गर्दा धारा-पधेँरो, मन्दिर र घाटहरुमा भएको जातीय विभेदका समाचारले मनभित्रै उथलपुथल हुन थाल्छ । अहिले समाज यिनै घटनाले तताएको छ । रुकुमकाे चाैरजहारीमा घटेको क्रुर अपराध मानवताकै उपहास हो । कथित माथिल्लो जातकी युवतीसँगको प्रेम सम्बन्धलाई कथित तल्लो जातका युवाले अन्तरजातीय विवाहमा परिणत गर्न खोज्दा हत्याजस्तो जघन्य अपराधकाे बाटाे समायाे समाजले ।

जातीय विभेदको आगोले लिएको विभत्स रुपको उदाङ्गो उदाहरण हो- चाैरजहारी घटना । हुनत अपराधीहरुको न कुनै जात हुन्छ, न त अपराधले कुनै जात नै भन्छ । तर अपराध घट्नुको प्रमुख सामाजिक कारक तत्व जातीय अहंकार र सदियाैँदेखि मानिसमा थाेपरिएकाे त्यही विभेदकारी छुत-अछुतकाे मनाेविज्ञान नै थियो भन्नुमा अत्युक्ति नहोला ।

केही समयअगाडि प्रकाश सपुतको ‘गलबन्दी च्यातियो…’ बोलको चर्चित लोकगीत र शम्भु राईको ‘आउ नाचौँ साथी हो..’ बोलको पुरानो लोकगीतबाट चोरी गरिएको भनेर कपी राईटसको विषयमा स्रष्टाहरुमा वादविवाद भएको थियो । उक्त विवादमा गायक प्रकाश सपुतलाई कथित दलित जाति भएकै कारण सामाजिक सन्जालमा गाली, गलौज र अपमानजनक शब्दहरु प्रहार गरी अपमानित गरिएको थियो । यो विवादित विषयमा सांसद र सदनमा समेत आवाज उठेको थियो । यसबाट पनि प्रस्ट हुन्छ कि यो छुवाछुत र विभेदको मानसिकता शहरमा पनि, अाधुनिक समाजमा पनि जरा गाडेर बसेको छ । अझ घरैपिच्छे देखिने छुवाछुतका कहानी त भनिसाध्य छैन ।

बाल्यकालीन यादहरू

मेरो जन्म भक्तपुरको काँठे क्षेत्रमा भएको थियो । गाउँभरिमा सबैभन्दा शिक्षित परिवार हाम्रै थियो, त्यसवेला । प्रत्येक सालको दशैँमा सालैपिच्छेझैँ खसी काटेपछि खसीको मासुको भाग-भाग लगाईन्थ्यो । दिउँसोतिर ‘गाईने आमा’ आउँथिन्, सदाजसो । घरबाहिर पिँढीमा बस्थिन् । उनको भागस्वरुप उनलाई खसीको खुट्टा र दुई-चार पाथी धान दिइन्थ्यो । खाना ख्वाएर पठाइन्थ्यो ।

ती गाइने आमालाई खानाका थाल र पानीकाे लोटा अलग्गै दिइन्थ्यो । बाहिरै खान्थिन्, थाल र लोटा पखालेर घाममा सुकाएर जान्थिन् । उनी घरभित्र पसेको कहिले पनि थाहा भएन मलाइ ।

फेरि उस्तै अनुहार भएकी बाहुनी आमा आउथिन् । उनलाई चाहिँ परैबाट ‘नमस्कार’ गरी माथि चोटाको भान्छामा लगेर चोखो फलफूल र मीठाेमसिनाे ख्वाइन्थ्यो । दान (पैसा, धान-चामलको भाग) दिएर पठाइन्थ्यो।

म सधैँ अलमलमा हुन्थेँ- उस्ताउस्तै अनुहार भएका मान्छे जातका यी दुई बुढीआमाहरुमध्ये कसैलाई मानमनिताे गरी भान्छामा लाने अनि कसैलाई भने अछुत भन्दै पिँढीमा राख्ने गरेको किन हाेला ? याे सब देख्दा मेरो बाल मस्तिष्क त्यसैमा चक्कर खान्थ्याे । यस्तो किन हुन्थ्यो, सही जवाफ कहिल्यै पाइनँ मैले ।

माथिल्लो जातका सबैको घरबाट दशैँको अष्टमीको दिन तल्लो जातिहरुलाई यसरी नै दिने चलन थियो । उनीहरुले वर्षभरि माथिल्लो जातिहरुको लागि गरेको कामको ज्यालास्वरुप यी सामान दिइने गरिन्थ्यो । हामी कार्कीलाई सार्की भन्नु अपमान थियो । सार्की शब्द गाली हुन्थ्याे ।

अहिले पनि हाम्रो गाउँभन्दा तल सार्कीगाउँ छ र त्यो बेला पनि थियो । तर हाम्रो पाईला त्यहाँसम्म कहिल्यै पुगेन । किनकि हामी माथिल्लो जातका बच्चाहरुलाई पनि त्यो तल्लो जातको टोल जान बन्देज थियो । कदाचित् उनीहरुलाई छोइहालेमा नुहाएर सुनपानीले आफूलाई चोख्याउनु पर्ने नियम सिकाइएको थियाे । हो यसरी हाम्रो बाल मस्तिष्कमा नै जातीय छुवाछुतको कीरा पसाइएको थियो ।

जब म किशोरी भएँ, काँठ छोडेर काठमाडौंमा बसाइँसराइ गरियो । भनौँ हामी शहरिया भयौँ । यहाँ आउनेबित्तिकै बुबाका कैयौँ नियम र आदेशहरु हामीमाथि थोपारिए । जसमध्येको एउटा आदेश यो थियो – ‘हेर, छोराछोरी ! म जातपात मान्दिनँ । मागी बिहे पनि मान्दिनँ । कोही केटा मन पर्छ भने भन है आफ्नो जातको नभए पनि हुन्छ तर पानी चल्ने जातचाँहि चाहिन्छ है ।’ हामी यसै मख्ख थियौँ । त्यो बेला बुबाजतिको उदारवादी कोही लागेन किनकि प्रेम विवाह गर्न छुट जो थियो ।

पहिलाे फक्रन नपाएकाे प्रेम

कलेजको एउटा केटा साथीले मलाइ असाध्यै मन पराउँथ्यो। मलाइ पनि खुब मन पर्थ्यो त्याे केटाे । म जब कलेजमा उसको अघि-पछि हुन्थेँ, उसले सधैँ एउटै गीत गुनगुनाउने गर्थ्यो । गायक यस कुमारको ‘शितको थोपा हुँ म मन्दिरको जल होइन, नआउ मेरो सामु तिमी मैले छोएको पानी चल्दैन… ।’ स्वर मीठो थियो केटाकाे । तर पछि मात्र थाहा पाएँ- उ कथित तल्लो जातको रहेछ। जसको कारणले उसले कहिल्यै पनि मलाई प्रेम प्रस्ताव राख्नै सकेन। त्यतिबेला बल्ल राम्रोसित बुझेँ गीतको भावार्थ र मेरो बाबाको आदेशको अर्थ । यसरी मेरो पहिलो प्रेमकाे मुना नफक्रिँदै जातको नाममा तुहिएर गयो।

अहिले पनि हाम्रो परिवारकी एउटी छोरीको प्रेम सम्बन्ध कथित तल्लो जातसँग छ। केटा योग्यता पुगेको र वर हुन लायक छ। तर पनि जातीयताको जरा यति विघ्न बलियोसँग गढेको छ कि कथित सानो जात भएकै कारणले उनीहरुको विवाह हुन सकिरहेको छैन। समाजले के भन्ला भन्ने डरले नै घर-परिवारको सहमति छैन। जसको कारण प्रेमको बलिदान दिनुबाहेक उनीहरुको विकल्प छैन। भागेर जाँदा के थाहा, अर्को मृत्युदण्ड दिइन्छ कि? त्यसैले घरपरिवारसँग विद्रोह गर्ने आँट उनीहरुमा छैन ।

मैले १५ वर्षपहिले भोगेको पीडा नयाँ पुस्तासम्म आइपुग्दा पनि ज्यूँकात्यूँ हुनु लाजको विषय हो।किनकि जातीय विभेदका सम्बधमा समाज आज पनि जहाँको त्यहीँ नै छ। जबसम्म समाजको मस्तिष्कमा भरिएर रहेको यो जातियता नामक काइते रोगलाई निर्मूल पार्न सकिँदैन, तबसम्म यो रोग अब आउने अरू पुस्ताैँपुस्तासम्मै हस्तान्तरण हुँदै जानेछ ।

कसरी चुक्यौँ हामी ?

हाम्रो पाठ्यक्रमका सामाजिक शिक्षामा ब्राह्मण, क्षेत्रीय, वश्य, शुद्र गरी चार वर्ण जातहरु हुन्छ भन्नेर पढाइन्छ । तर त्यहाँ विभेद गर्न हुँदैन भनेर पढाइँदैन । जातीय विभेद मौलाउनुमा हामीभित्रको जरासहितको अन्धविश्वास र त्यसलाई सहयोग गर्ने केही परिमार्जन आवश्यक छ । यसमा धर्मशास्त्रको पनि ठूलो भुमिका छ। मान्छेले लेखेका धर्मग्रन्थले मान्छेलाई नै पुजनीय र मान्छेलाई नै अछुत बनाएको छ। त्यो बेला कुन आधारमा यी नियमहरू बने, त्यसको तर्कसंगत उत्तर कसैसँग पनि छैन। फेरि पनि हामी त्यही कुरा शिराेधार्य गरिरहने हाे भने समाजमा परिवर्तन कहिल्यै सम्भव हुनेछैन। धर्मले सिकाएको व्याख्यानकाे नशा दिमागमा नै बसेर अफिमजस्ताे हुनेरहेछ ।

हुनत नेपालमा अहिले कानुनी शासन छ । नेपालको संविधानमा समानताको हक, छुवाछूत तथा भेदभावविरुद्धको हक, दलितको हकजस्ता मौलिक हक अन्तरगत संवैधानिक व्यवस्था छन् । तर राज्यविरुद्ध लडेर लिन सक्ने हक मात्र संविधानका पानाहरुमा सीमित हुनु दु:खको कुरा हो। सामाजिक न्याय सुनिश्चित गर्दै समतामूलक समाजको निर्माण गर्ने संकल्पसहित बनेको आदर्श स्ंविधानलाई यी र यस्तै जातीय विभेदका घटनाहरुले खुल्लमखुल्ला उपहास गरिरहेका मात्रै छैनन्, ठाडो चुनौती पनि दिइरहेका छ्न्।

कानुन मात्रले समाधान नहुने

विं स १९१० सालको मुलुकी ऐनले छुवाछुत र विभेदजन्य कानुनहरुको व्यवस्था गरेको भए पनि विं स २०२० सालको मुलुकी ऐनले छुवाछुतलाई अस्वीकार गर्यो । हालको मुलुकी अपराध संहितामा पनि जातिपातिको आधारमा भेदभावपुर्ण व्यवहार गर्न नहुने र यस्ता कसुर गर्ने वा गराउनेलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैँयासम्मको जरिवाना वा दुबै सजाय हुने प्रावधान समेटिएकाे छ। र पनि यसको सामाजिकीकरण हुन नसक्नुमा हामी कहीँकतै चुक्यौँ कि भन्ने आशंका उब्जनु स्वभाविक हो।

कानुनी राज्य जातित्वकोआधार एउटा मानव, मानव भएर बाँच्न नपाएपछि सन् १९४८ को मानवअधिकारको विश्वव्यापी घोषणामा नेपालको हस्ताक्षर हुनुको कुनै अर्थ छैन ।

विश्वमा जातीय भेदभावका सम्पूर्ण सबै स्वरुपको उन्मूलन विषयक संयुक्त राष्ट्रसङ्घीय सन्धि सन् १९६५ मा जारी भई १९६९ देखि कार्यान्वयनमा आएको थियो । जसलाई नेपालले पनि अनुमोदन गरेको थियो । कागजमा सीमित अनुमोदनले नेपाली समाजमा कुनै परीवर्तन आएको छैन ।

जातीय छुवाछुत आफैमा अपराध हो भनेर थाहा नहुने जनता विरलै होलान् । कानुनमा जति कडा सजायको प्रावधान रहे पनि समाजमा अन्त्य हुने छाँटकाँट नै छैन। कानुनलाई केवल जातीय छुवाछुत र विभेद नियन्त्रण गर्ने एक हतियारको रुपमा लिन मात्रै सकिन्छ । मानिसकाे मनमस्तिष्क र दृष्टसकाेणमै असमानता र विभेद रहुन्जेल समाजमा द्वन्द्वको सृजना भैरहन्छ।

अतः कानुन बनाएर वा शिक्षित भएर मात्रै समाज सुधार हुँदैन । जबसम्म उच्च मानवीय चेतनाको विकास आफूमा हुँदैन, तबसम्म सामाजिक न्याय सम्भव छैन । कानुनमा न्याय लेखेर मात्रै हुँदैन, समाजमा न्यायकाे छाप पर्नु पनि पर्दछ ।

छुवाछुतको विरुद्धमा सामाजिक तयारी कहिलेबाट ? अब उठौँ । आवाज बुलन्द पारौँ ।पहलकदमी गरौँ । मैले नगरे कसले गर्ने? अहिले नगरे कहिले गर्ने?? राज्यलाई झकझक्याउनु हामी सबैकाे समान कर्तव्य हाे । किनकि जातीय विभेदकाे मुद्दा कुनै जातविशेषकाे हैन, याे हामी सचेत नागरिक सबैकाे हाे । पीडित र पीडक वर्ग सबैले यसकाे अन्तर्य बुझेर निरूत्साहनका कदम चाल्नु ढिलाे भइसकेकाे छ । अपराध गर्नुभन्दा अपराध सहनु ठुलो अपराध हो, तसर्थ आफ्नो कानुन प्रदत्त माैलिक हक मागेर पाइँदैन भने लडेर लिउँ ।

LIVE TV