१७ जेष्ठ २०७७, शनिबार

काठमाडौँ, १७ जेठ। सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने भएको छ । श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, सुत्केरी तथा गर्भवती महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, आफन्तको मृत्यु भई काजक्रियामा बस्नुपर्ने, स्वास्थ्यको दृष्टिकोणले अस्वस्थ (कोरोना बाहेक) रहेकालाई प्राथमिकीकरण गरेर सरकारले ल्याउन लागेको हो ।

मन्त्रिपरिषद्को बैठकले यसअघि नै विदेशमा रहेका नागरिकलाई प्राथमिकताका आधारमा फिर्ता ल्याउने निर्णय गरेको थियो । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अनुसार, तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकिकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको हो । सरकारी सेवामा रहि तालिम वा अध्ययनका लागि विदेश गएकाले पनि सम्बन्धित देशको दूतावासमा आफ्नो विवरण टिपाएर पर्नेछ ।

स्वदेश फर्कन चाहनेहरूको सम्पूर्ण विवरण प्राप्त भएपछि नेपाल वायुसेवा निगम वा नेपालका अन्य वायुसेवा निगमबाट नागरिकको उद्धार गरिने जनाइएको छ । उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव विडारीका अनुसार, नेपाल फर्कन चाहने नागरिकको विवरण पहिचान गरी परराष्ट्र मन्त्रालयले विवरण तयार पार्नेछ । याे खबर गाेरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV