१६ जेष्ठ २०७७, शुक्रबार
  • मनिराज पाण्डे,

कालिकोट, १६ जेठ । कर्णाली प्रदेशसभामा कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आर्थिक वर्ष २०७७/७८ नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।

प्रस्तुत प्रतिवेदनमा रोजगारीदेखि पानीमा लगानीसम्मका कार्यक्रम समेटिएका छन् । कर्णाली प्रदेश सरकारले कोरोनाविरुद्ध ठूलो जनशक्ति परिचालन गरेको प्रमुख कलौनीले बताउनु भएको छ ।

‘प्रदेश सरकारले राहत, क्वारेन्टाइन, स्वास्थ्य जाँच व्यापक बनाइएको छ,’ उहाँले भन्नुभयो, ‘संकटको घडीको सबैको साथ दिएका छन् ।’

आठबीसकोट नगरपालिकाको राकममा ट्रमा सेन्टर स्थापना गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ । कर्णाली राजमार्ग र मध्यपहाडी राजमार्गमा हुने दुर्घटना लक्षित गर्दै राकममा ट्रमा सेन्टर स्थापना गर्ने कार्यक्रम समेटिएको हो ।

नीति तथा कार्यक्रममा कर्णाली प्रदेशका सबै स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गरिने जनाएको छ । नीति तथा कार्यक्रममा सबै जिल्ला अस्पतालमा कम्तीमा १ सय शैया आइसोलेन, ५ शैयाका आईसीयू र एक भेन्टिलेटरको व्यवस्था गरिने उल्लेख गरिएको छ ।

विकास निर्माणका कामलाई अगाडि बढाउनका लागि ठूला पूर्वाधार विकासका लागि परियोजना बैंक बनाइने प्रदेश प्रमुख कलौनीले बताउनुभयो । आर्थिक वृद्धि गर्नका लागि निजी क्षेत्र, सहकारी क्षेत्रसँग सहकार्य गरेर रोजगारी बृद्धि गर्ने लक्ष्य राखेको प्रदेश प्रमुख कलौनीले बताउनुभयो ।

युवालाई उद्यम र रोजगारी दिनका लागि मुख्यमन्त्री युवा उद्यमी कार्यक्रम सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रममा समेटिएको छ । आन्दोलनमा घाइते योद्धा शहीद परिवारलाई लक्षित गरेर रोजगारीमूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धनका लागि विषेश कार्यक्रम ल्याउने पनि जनाइएको छ । जगदुल्ला र भेरी बबईमा जलविद्युतमा प्रदेश सरकारले लगानी गर्ने नीति तथा कार्यक्रम समेटिएको छ ।

सडक निर्माणको गुरुयोजना निर्माण गरिने जनाएको छ । सुर्खेतदेखि हुम्लाका हिल्सासम्मको सडक निर्माणका लागि संघीय सरकारसँग सहकार्य गर्ने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

आवश्यक रहेको ठाउँमा झोलुङ्गे पुल निर्माण गरिने जनाएको छ । कर्णाली प्रदेशका प्रमुख शहरमा विद्यतीय सवारी साधन सञ्चालनमा ल्याउने प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

एक जिल्ला एक पर्यकीय क्षेत्रको विकास गरिने नीति तथा कार्यक्रम सञ्चालन गरिने जनाएको छ । प्रदेशका सबै जिल्लाका विमानस्थलहरू सञ्चालनमा गरिने प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ ।

खेलाडी उत्पादन, खेलकुदको विकासका लागि सामुदायिक विद्यालयमा खेलकुद मैदान निर्माण र पूर्वाधार विकास गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रदेश सरकारले प्रदेश प्रहरीको स्थापना गर्ने पनि कार्यक्रममा समेटेको छ । कारागारलाई सुधार गृह बनाउनका लागि खुल्ला कारागारको अवधारणा अगाडि बढाइने प्रदेश सरको नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV