१६ जेष्ठ २०७७, शुक्रबार
  • तारा आचार्य

विराटनगर, १६ जेठ । लकडाउनको अवधिमा नेपाल र भारत सरकार बीच आफ्ना नागरिकहरुलाई प्रवेश सहज गर्ने सहमति भएपछि विराटनगरको आईसीपी नाकाबाट भारत प्रवेश गर्नेहरुको लर्को लागेको छ ।

जेठ १३ गतेदेखि विराटनगरको सिमावर्ती जोगबनी नाका भएर नेपालीहरु प्रवेश गर्न थालेका छन् भने जेठ १४ गते देखि आईसीपी नाका भएर भारतीयहरु घर जान थालेका हुन् ।

बिहार सरकारले आफ्ना नागरिक मात्र आईसीपी नाकाबाट प्रवेश गर्न दिएपछि भारत कै अन्य राज्यका नागरिकहरु भने आइसीपीबाटै फर्कन बाध्य हुनुपरेको छ ।

उत्तर प्रदेश र झारखण्डका उनीहरुले आफ्नै मुलुक छिर्न नपाएको भन्दै गुनासो गरेका छन् । अन्य राज्यका भारतीय नागरीकलाई भारतको विहार सरकारले प्रवेश गर्न दिएको छैन ।

नेपालबाट भारत तर्फ गईसकेको र भारतले पनि आईसिपी नाकाबाट छिर्न नदिएपछि बिहार बाहेक अन्य राज्यका भारतीयहरु घण्टौ दशगजामा अलपत्र परेर बस्न बाध्य छन् ।

आईसीपी नाका भएर दैनिक २ सय जना भारतीय त्यो पनि बिहारका मात्र भारत प्रवेश गरिरहेका छन् । बिहारका नागरिकहरुलाई भने बिहार प्रशासनले सम्बन्धित जिल्ला लगेर स्वास्थ्य चेकजाँच गरेपछि घर जान दिने गरेको बताइएको छ ।

लकडाउनको समय लम्बिदै गए पछि भारतको विहार सरकारले विहारका नागरिकहरुलाई लैजान थालेको छ । कामविहीन भएपछि धेरै भारतीयहरु भारत प्रवेश गर्न पाएकोमा खुशी छन् ।

तर पश्चिम बंगालले अझै पनि आफ्नै राज्यका नागरिकहरुलाई प्रवेश नदिएपछि मोरङ, सुनसरी र झापाका इटाभट्टामा काम गर्ने करिब २५ हजार भारतीयहरु पश्चिम बंगाल जान पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV